काठमाडौँ, ४ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी ६६ वटा उजुरी दर्ता भएको जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त ती उजुरीका आधारमा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म ३२ वटाको स्पष्टीकरण प्राप्त भइसकेको छ भने बाँकीको प्रतीक्षा भइरहेको छ। प्राप्त स्पष्टीकरणहरूको अध्ययन तथा आवश्यक मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जनाइएको छ।
दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारसम्बन्धी उजुरी भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण तथा कारबाहीका लागि पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।
जिल्लास्तरमा समेत आचारसंहिता उल्लंघनविरुद्ध उजुरी प्राप्त भइरहेका छन्। ती उजुरीमा सम्बन्धित जिल्लाबाटै स्पष्टीकरण सोध्ने, जवाफ माग गर्ने र दोषी देखिए कानुनी कारबाही अघि बढाउने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको बताइएको छ। साथै, निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई गैरआर्थिक विषय र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको छ।
आयोगले छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने तथा पालना गर्ने प्रतिबद्धता गराउने कार्यलाई तीव्र बनाइएको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्