काठमाडौं । राजनीतिक विश्लेषक डा. लोकराज बरालले नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको नेतृत्व परिवर्तन र आन्तरिक विद्रोहलाई समय र सन्दर्भको अपरिहार्य परिणाम बताएका छन्। एबीसी टेलिभिजनको विशेष अन्तर्वार्ता कार्यक्रममा आउटलुकमा प्रधानसम्पादक शुभशंकर कँडेल सँगको कुराकानीमा कुराकानीमा उनले कांग्रेस लामो समयदेखि संगठनात्मक अव्यवस्था, असैद्धान्तिक सत्ता गठबन्धन र नेतृत्व केन्द्रीकरणका कारण संकटमा पर्दै आएको बताए।
डा. बरालले दुई महिना अघि नै कांग्रेसको अवस्था ‘टालटुले सम्झौताले जोगिने चरण पार गरिसकेको’ भन्दै विद्रोह वा निर्णायक परिवर्तन बाहेक विकल्प नरहेको विश्लेषण गरेका थिए। संयोगवश, त्यसको केही सातामै पार्टीभित्र व्यापक दबाब र परिवर्तनको लहर देखिनु राजनीतिक रूपमा अर्थपूर्ण भएको उनको भनाइ छ।
उनका अनुसार लोकतन्त्रमा जब विधायिका, कार्यपालिका र न्यायपालिकाको प्रभावकारिता कमजोर हुन्छ, तब जनतामा ‘विद्रोह गर्ने अधिकार’ स्वाभाविक रूपमा सक्रिय हुन्छ। यही सैद्धान्तिक पृष्ठभूमिमा कांग्रेसभित्र देखिएको परिवर्तन केवल पार्टीभित्रको मात्र नभई समाजमा फैलिएको असन्तोषको प्रतिफल भएको उनले बताए।
डा. बरालले २०७४ सालयता शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस असैद्धान्तिक चुनावी र सत्ता गठबन्धनतर्फ गएको, जसले पार्टीको ऐतिहासिक पहिचान र लोकतान्त्रिक एजेन्डामा गम्भीर क्षति पुर्याएको टिप्पणी गरे।
“कांग्रेस लोकतन्त्रको एजेन्डा सेटर पार्टी हो। यदि कांग्रेस नै सिद्धियो भने नेपालमा स्थिर लोकतन्त्रको भविष्य प्रश्नमा पर्छ,” उनले भने।
नयाँ नेतृत्वप्रति आशा
पछिल्लो महाधिवेशनपछि गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूको भूमिकाले जनस्तरमा नयाँ आशा जगाएको डा. बरालको विश्लेषण छ।
“उनीहरूमाथि अहिलेसम्म गम्भीर भ्रष्टाचारको आरोप छैन। त्याग, पारदर्शिता र संगठनात्मक अनुशासनले विश्वास फर्किन थालेको छ,” उनले भने।
यद्यपि, टिकट वितरण, समावेशिता र संगठन व्यवस्थापनमा अझै असन्तोष देखिएको स्वीकार गर्दै उनले अब कांग्रेसको सबैभन्दा ठूलो परीक्षा डेलिभरी हुने स्पष्ट पारे।
नारा होइन, नीतिगत डेलिभरी
डा. बरालका अनुसार अबको राजनीति केवल ‘देश बनाउँछु’ भन्ने नाराले चल्दैन।
“शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र गरिबी निवारणमा ठोस नीतिगत डेलिभरी चाहिन्छ। ५०–६० पेजको घोषणापत्र होइन, ५–७ पेजको स्पष्ट, सम्भव र जवाफदेही एजेन्डा आवश्यक छ,” उनले जोड दिए।
उनले सामाजिक न्याय बिना उदार लोकतन्त्र टिक्न नसक्ने उल्लेख गर्दै क्रोनी क्यापिटलिजम लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको बताए। अलपत्र पूर्वाधार, बिचौलिया प्रभाव र राजनीतिक फन्डिङको अपारदर्शिता अन्त्य नगरेसम्म कुनै पनि पार्टी सफल नहुने उनको निष्कर्ष छ।
सामाजिक सञ्जाल र चुनावी चुनौती
आगामी निर्वाचनमा सामाजिक सञ्जाल, एआई प्रविधि र गलत सूचनाले राजनीति थप जटिल बनाउने भन्दै डा. बरालले परम्परागत पार्टी राजनीतिले अब काम देखाउनैपर्ने अवस्था आएको बताए।
“अब मतदाताले भाषण होइन, काम हेरेर भोट दिन्छन्। टिक्ने पार्टी त्यही हुन्छ, जसमा सुधार गर्ने आत्मबल र डेलिभरी गर्ने क्षमता हुन्छ,” उनले भने।








प्रतिक्रिया दिनुहोस्