काठमाडौं, — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई फेरि एकपटक बृहत् कम्युनिस्ट एकताको ढोका खोलिदिएका छन्। उनले विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह गर्दै भनेका छन्— ‘अझै पनि आए हामी स्वागत गर्न तयार छौं।’
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरेर आएका नेताहरूलाई नेकपामा समायोजन गर्दै कम्युनिस्ट एकताको विषयमा लामो टिप्पणी गरे।
उनले भने— समाजवादी मोर्चाको समयमा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको थियो। तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्योलको भुमरीमा हरायो। राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गरेर शक्ति आर्जन गर्ने अवसर थियो, जुन विप्लवले गुमाए।
प्रचण्डले थपे— अहिले पनि विप्लवप्रति कुनै आक्रोश छैन। आत्मसमीक्षासहित आए हामी स्वागत गर्न तयार छौं। देश अहिले असहज अवस्थामा छ। कम्युनिस्टहरू एकताबद्ध भएर देशव्यापी अभियानमा नगए ठूलो दुर्घटना निम्तिन सक्छ। त्यसैले एकतामा जोड दिइएको हो।
कार्यक्रममा विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल लगायतका नेताहरूलाई नेकपामा प्रवेश गराइएको थियो। प्रचण्डले अन्य कम्युनिस्ट घटकहरूलाई पनि बृहत् एकतामा सामेल हुन आह्वान गरे।
यो अभिव्यक्तिले कम्युनिस्ट आन्दोलनमा एकताको बहस फेरि तताएको छ। विप्लव पक्षबाट अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन।








प्रतिक्रिया दिनुहोस्