काठमाडौं, ११ माघ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। सङ्घका अनुसार ठूलो अण्डा एक क्रेट ९३० वटा० को फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ। यसअघि प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४४५ रुपैयाँ थियो।गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
त्यसबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल बन्नु तथा निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्य बढेको हो। साथै, अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, उत्पादन कम हुनु तथा बन्द रहेका विद्यालयहरू खुल्नुलगायत कारणले पनि मूल्यमा क्रमिक सुधार देखिएको उनले बताए।अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउने हुँदा प्रतिक्रेट लागत मूल्य ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेपछि पुनः मूल्य घट्दा किसान निरास बनेका थिए। अब भने मूल्य बढ्ने आशामा किसान रहेका छन्। सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्