ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’


ए. वेस मिचेल

आलोचकहरूलाई बेवास्ता गर्दा नयाँ राष्ट्रिय सुरक्षा रणनीति ले परिभाषित गरेको एकीकरणको तर्क पूर्ण रूपमा समझदार छ।

गत महिना ट्रम्प प्रशासनले नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीति (एनएसएस) सार्वजनिक गरेपछि दुई मुख्य प्रकारका आलोचना आएका छन्। केही आलोचकहरूले यो दस्तावेजमा एकीकृत रणनीतिक दृष्टिकोणको अभाव रहेको र यो प्रशासनभित्रका विभिन्न समूहहरूलाई खुसी पार्ने लेनदेनमुखी इच्छासूची मात्र भएको बताउँछन्। अर्को समूहले यसलाई प्रतिस्पर्धाबाट पछि हट्ने संकेत ठान्छन्, जसले क्षेत्रीय प्रभुत्वका लागि प्रतिद्वन्द्वी शक्तिहरूलाई प्रोत्साहन दिन्छ भन्ने आरोप लगाउँछन्।

यी दुई आलोचना पछिल्ला ३० वर्षमा अमेरिकी विदेश नीतिको प्रमुख दुई धारसँग मेल खान्छन्। पहिलो समूह (मुख्यतः स्थापित वामपन्थी भनाइहरू) ले एनएसएस लाई तथाकथित नियम–आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रति अमेरिकी समर्थनको मौन परित्याग ठान्छन्। दोस्रो समूह (मुख्यतः स्थापित दक्षिणपन्थी भनाइहरू) ले यसलाई युरोप र एसियामा अमेरिकी सैन्य प्रभुत्वको त्याग तथा रुस र चीनसँग सम्झौतापरक नीतिको संकेत ठान्छन्।

दुवै समूहले भेनेजुएलामा अमेरिकी कारबाहीलाई आफ्नो तर्कको प्रमाण ठान्छन्। दुवै आलोचनाको जड धारणा के हो भने ट्रम्पको विदेश नीति अमेरिकाको परम्परागत विदेश नीतिबाट मात्र होइन, महान रणनीतिको अनुशासन (संस्थागत वा सैन्य रूपमा) बाटै पूर्ण रूपमा पछि हटेको छ— यसको सट्टामा विचारधारा, लेनदेनवाद र अल्पकालीन रणनीतिलाई प्राथमिकता दिएको छ।

तर दुवै आलोचना गलत छन्। ट्रम्पका रणनीतिक कार्यहरू र एनएसएस वास्तवमा महान रणनीतिको अनुशासनमा दृढ रूपमा आधारित स्पष्ट र प्रभावशाली तर्कमा जरा गाडेको छ। इतिहासमा यसलाई एकीकरण भनिन्छः कुनै महाशक्तिले आफ्नो स्थिति सक्रिय रूपमा मजबुत बनाउन र समयसँगै आफ्नो उपलब्ध शक्ति बढाउने प्रयास। एकीकरण भनेको अल्पकालीन व्यापार–सम्झौता स्वीकार गर्दै दीर्घकालीन संरचनात्मक कारकहरूलाई नवीकरण गर्ने हो, जसले भविष्यमा ती व्यापार–सम्झौतालाई पार गर्न वा कम गर्न सकियोस्। अर्को शब्दमा, एकीकरणले अल्पकालीन जोखिमलाई दीर्घकालीन लाभसँग साट्छ।

एकीकरण इतिहासका धेरै सफल महाशक्तिहरूले खतरनाक क्षणमा आफ्नो स्थिति स्थिर पार्न प्रयोग गरेको पुरानो रणनीति हो। यो जीवन, व्यवसाय र रणनीतिमा एक सार्वभौमिक सत्यमा आधारित छः अति फैलिएको प्रणाली टुट्ने सम्भावना बढी हुन्छ। अमेरिकाको हकमा, एकीकरण दुई प्रमुख रणनीतिक समस्याको उचित प्रतिक्रिया हो— पहिलो, देशसँग अहिले आफ्ना सबै विरोधीहरूसँग एकैसाथ लड्ने सैन्य क्षमता छैन। दोस्रो, चीनसँगको समग्र आर्थिक तथा प्राविधिक शक्तिमा अमेरिका विस्तारै कमजोर हुँदै गएको छ, जुन अमेरिकी इतिहासकै सबैभन्दा शक्तिशाली प्रतिद्वन्द्वी हो।

यी दुवै समस्याको जड विगतका नीतिहरूमा छ, जसले विदेशमा अमेरिकी सैन्य प्रतिबद्धता बढाउँदै गए तर अमेरिकी शक्तिको आधारभूत स्रोतहरूलाई बेवास्ता गरे। परिणामस्वरूप वाशिंगटनसँग उपलब्ध साधन र तिनलाई प्रयोग गर्ने उद्देश्यहरूबीचको खाडल बढ्दै गएको छ। यो खाडल वास्तविक छ र यो आफैं कम हुँदैन। साधन र उद्देश्यबीचको यो खाडललाई जोड्ने वा सामना गर्ने तरिका खोज्नु नै महान रणनीतिको परिभाषा हो।

एनएसएस लाई यो खाडललाई सक्रिय रूपमा व्यवस्थापन गर्ने ढाँचाका रूपमा हेर्न सकिन्छ। यसले अमेरिकासँग उपलब्ध साधनहरू बढाउने (व्यापार सम्बन्ध पुनर्संरचना, सन्तुलित गठबन्धन, अमेरिकी तथा हेमिस्फेरिक स्रोतहरूको परिचालन) र तत्कालीन उद्देश्य वा खतराहरू घटाउने (रणनीतिक कूटनीति, डिटेन्ट र निरोध) दुवै काम गर्छ। नीतिगत रूपमा यो पाँच मुख्य खम्बामा आधारित छः
–पश्चिमी गोलार्धलाई मजबुत बनाउने
–एसियामा अनुकूल शक्ति सन्तुलन कायम राख्ने
–युरोपको रक्षा युरोपेलीहरूलाई सुम्पने
–मध्यपूर्वको स्थिरता क्षेत्रीय गठबन्धनलाई सुम्पने
–अमेरिकी ऊर्जा र नियमनमुक्तीकरण प्रयोग गरी अमेरिकी प्रतिस्पर्धी प्रविधिलाई तीव्र बनाउने

यी सबै घटकहरूमा एकीकरणको प्रतिस्पर्धी तर्क छ।

पहिलो स्तम्भले सबैभन्दा बढी आलोचना खेपेको छ। मोनरो सिद्धान्तको बलियो पुनःस्थापना संकेत गर्दै प्रशासनले चीन जस्तो मुख्य खतराबाट स्रोतहरू मोडेर प्रतिस्पर्धाबाट पछि हटेको आरोप लाग्छ। तर घरेलु क्षेत्रमा फोकस गर्नु प्रतिस्पर्धाको सिद्धान्तसँग विरोधाभासपूर्ण हुँदैन। मेरो हालै प्रकाशित पुस्तकमा १,४०० वर्षका महान रणनीतिक घटनाक्रमहरूको अध्ययन गर्दा पाइयो कि बहु–मोर्चाको युद्धको जोखिममा परेका अधिकांश महाशक्तिहरूले पहिले आफ्नो घरेलु क्षेत्र सुरक्षित बनाए। आफ्नो सीमा सुरक्षित गर्नु, नजिकका भूमिबाट प्रतिद्वन्द्वीहरूलाई निष्कासन गर्नु र छिमेकी स्रोत क्षेत्रमा प्रभुत्व कायम गर्नु टाढाका ठाउँमा निरन्तर प्रतिस्पर्धाका लागि आधारभूत शर्त हुन्।

पश्चिमी गोलार्धको अद्वितीय भूगोलका कारण अमेरिकासँग मुख्य प्रतिद्वन्द्वीबाट ध्यान नहटाई एकीकरण गर्ने विशेष क्षमता छ। रुस र चीन जस्ता शक्तिहरू विरोधी तथा सशस्त्र औद्योगिक शक्तिहरूले घेरिएका क्षेत्रमा छन् भने अमेरिकाको छिमेकमा शक्ति असन्तुलन निकै स्पष्ट छ। ल्याटिन अमेरिकामा अमेरिकासँग क्षेत्रीय दाबी छैन। वाशिंगटनले समय–समयमा शक्ति प्रदर्शनबाट आफ्नो उद्देश्य हासिल गर्न सक्छ, ठूलो स्थायी तैनाथी बिना नै। अमेरिकी नौसेना आज पूर्वी प्रशान्तमा छ भने १० दिनपछि पश्चिमी प्रशान्तमा पुग्न सक्छ।

त्यसैले पश्चिमी गोलार्धमा फर्कनु चीनबाट मोडिएको होइन। सैन्य मुद्रा र हतियार प्राप्तिमा चीन नै मुख्य बाह्य खतरा रहिरहन्छ। यदि प्रशासनले भेनेजुएलामा लामो तथा महँगो राष्ट्र–निर्माणमा फस्नबाट जोगियो भने (जसका संकेतहरू छन्) यो फोकसले एसियामा अमेरिकी शक्ति र विश्वसनीयता बढाउँछ। भेनेजुएलाको तेलमा पहुँच (पहिले जबरजस्ती कब्जा गरिएका अमेरिकी कम्पनीहरूलाई क्षतिपूर्तिका रूपमा) ले अमेरिकी शक्ति मजबुत बनाउँछ र चीनबाट ती स्रोतहरू छिन्न्छ। यदि ग्रिनल्यान्डमा अमेरिकी पहुँच वा नियन्त्रण भयो भने पनि यही एकीकरणको तर्क लागू हुन्छ।

दोस्रो स्तम्भ (चीनसँगको सम्बन्ध) ले पनि चिन्ता बढाएको छ। बेइजिङसँगको सम्बन्धलाई मुख्यतः आर्थिक रूपमा प्रस्तुत गर्दै प्रशासनले पहिलो ट्रम्प प्रशासनको एनएसएस को प्रतिस्पर्धी जोडलाई कम गरेको आरोप छ। तर यो भू–आर्थिक डिटेन्ट तर्फको कदम प्रतिस्पर्धाविरोधी होइन। मेरो पुस्तकमा मैले यस्ता घटनाहरू पाएँ जहाँ महाशक्तिहरूले आर्थिक प्रतिद्वन्द्वीसँग सहअस्तित्व गर्दै त्यही राज्यसँग सम्भावित युद्धको तयारी गरे।

अमेरिकी सन्दर्भमा दुई कुरा सम्झनुपर्छ। पहिलो, एनएसएस सार्वजनिक हुँदा प्रशासन चीनसँग व्यापक व्यापार वार्तामा थियो। दोस्रो, रक्षा–औद्योगिक आधारको वर्षौंसम्म उपेक्षा भएकाले अमेरिकालाई आपूर्ति शृङ्खला सुरक्षित गर्न र चीनसँग सम्भावित युद्धको तयारी गर्न समय चाहिन्छ। पारस्परिक व्यापार नीति, ट्यारिफ, नियमनमुक्तीकरण र घरेलु ऊर्जा उत्पादन बढाउने प्रयासहरूले समयसँगै स्थिति सुधार्नेछन्। रक्षा विभागको हालैको अधिग्रहण सुधारले साना तथा छिटो कम्पनीहरूलाई सैन्य ठेक्कामा पहुँच दिने काम गर्छ।

तर अहिले अमेरिकालाई सास फेर्ने ठाउँ चाहिन्छ। चीनसँग अल्पकालीन mयमगक खष्खभलमष् (जीवनयापनको तरिका) खोज्दै दीर्घकालीन शक्ति कारकहरू विकास गर्ने रणनीति यो अवस्थाको तार्किक प्रतिक्रिया हो। एनएसएस को हरेक स्तम्भ चीनको आक्रामकतालाई निरोध गर्न अमेरिकी स्रोत खाली गर्ने लक्षित छ भन्ने कुरा बेइजिङबाट लुकेको छैन।

युरोपसम्बन्धी स्तम्भ सबैभन्दा विवादास्पद छ। मुख्य कुरा— महादेशको सुरक्षाको ठूलो जिम्मेवारी युरोपेलीहरूलाई सुम्पनु— अमेरिकासँग युरोप र एसियामा एकैसाथ युद्ध लड्ने पर्याप्त पारम्परिक शक्ति नभएको वास्तविकताको ढिलो प्रतिक्रिया हो। कम चर्चा भए पनि, युरोपेली नियामक ढाँचाहरूको विरोध (जसले चीनसँग दीर्घकालीन प्रतिस्पर्धाका लागि महत्वपूर्ण प्राविधिक क्षेत्रमा अमेरिकी नवप्रवर्तनलाई कमजोर बनाउन सक्छ) पनि रणनीतिक एकीकरणका लागि उत्तिकै महत्वपूर्ण छ।

आलोचकहरूले युरोपेली राजनीतिको कडा आलोचना विचारधारात्मक भएको आरोप लगाउँछन्। तर एनएसएसले उल्लेख गरेको अवस्था— स्व–निर्मित आर्थिक मन्दी, अविभाजित आप्रवासी जनसंख्या वृद्धि र अभिव्यक्ति दमन— युरोप र पश्चिमी सभ्यताका लागि सभ्यतागत खतरा हो। एनएसएस ले भनेअनुसार “युरोपलाई यसको वर्तमान दिशा सुधार्न मद्दत गर्ने” प्रयास रणनीतिक नै हो, किनकि यो पश्चिमी संसारको आधा भागको क्रमिक खोक्रोपन रोक्ने प्रयास हो।

मध्यपूर्वलाई प्राथमिकताबाट हटाउने स्तम्भले “शक्ति शून्यता” को भविष्यवाणी गराएको छ। तर युरोपभन्दा बढी, हालका अमेरिकी नीतिले क्षेत्रीय शक्ति सन्तुलन अनुकूल बनाएको छ जसले अमेरिकी सैन्य उपस्थिति घटाउन सम्भव बनाउँछ। गत वर्ष इजरायल र अमेरिकाको इरानमाथिको हवाई आक्रमणले मुख्य क्षेत्रीय प्रतिद्वन्द्वीको सैन्य शक्ति उल्लेखनीय रूपमा घटाएको छ। अब्राहम एकर्ड्स र इजरायल–अरब निकटताले केही वर्षअघि असम्भव ठानिएको स्थिरता ल्याएको छ। मध्यपूर्व सधैं आश्चर्यजनक हुन सक्छ, तर अमेरिकी सैन्य स्रोतको दृष्टिकोणबाट यसलाई एसिया वा युरोपसँग बराबर मान्नु बुद्धिमानी होइन।

ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय उद्देश्यहरू यसको घरेलु लक्ष्य— पुनःऔद्योगिकीकरण, आर्थिक नियमनमुक्तीकरण, ऊर्जा उत्पादन र चीनसँग प्रतिस्पर्धा परिभाषित गर्ने उदीयमान प्रविधिमा निरन्तर प्रभुत्वका लागि आवश्यक कारकहरू सिर्जना— सँग जोडिएका छन्। अन्तर्राष्ट्रिय र घरेलु पक्षहरू एकअर्कासँग हातेमालो गर्छन्ः पश्चिमी गोलार्धमा फोकसले अमेरिकी घरेलु स्थिरता बढाउँछः युरोप र मध्यपूर्वमा क्षेत्रीय सन्तुलनले चीनमा फोकस गर्न स्रोत खाली गर्छः चीनसँग रणनीतिक कूटनीतिले राष्ट्रिय शक्ति पुनर्निर्माणको समय किन्छः सहयोगीहरूसँग नियामक संरेखणले घरेलु प्राविधिक नवप्रवर्तनलाई प्रोत्साहन दिन्छः र उद्योग तथा ऊर्जामा घरेलु लगानीले सबै क्षेत्रमा अमेरिकाको लागि अनुकूल शक्ति सन्तुलनको आर्थिक आधार तयार गर्छ।

यो रणनीति पूर्ण छैन वा चुनौतीहरूको सामना गर्नेछैन भन्ने होइन। दुई मुख्य मुद्दाले प्रशासनको रणनीतिक विरासत निर्धारण गर्नेछन्। पहिलो (अल्पकालीन)— प्रतिद्वन्द्वीहरूको प्रतिक्रिया। एकीकरणको मूल तर्क समय खपत गर्ने र स्थिति सुधार्ने हो, जसले अल्पकालीन जोखिम स्वीकार गर्छ। अमेरिकी प्रतिद्वन्द्वीहरूले यो तर्क र मजबुत अमेरिकाको सम्भावना देखेर आफ्नो फाइदा तत्काल प्रयोग गर्न सक्छन्। तर ट्रम्पको रुस र चीनसँगको नजिकको कूटनीतिक संलग्नताले दुवैलाई आर्थिक सहयोग र रणनीतिक स्थिरतामा पारस्परिक लाभको व्यवहार्य सम्भावना दिन्छ, जसले तत्कालीन टकरावको प्रोत्साहन घटाउँछ।

दोस्रो चुनौती दीर्घकालीन छ र सहयोगीहरूसँग जोडिएको छ। घरेलु पुनरुत्थानपछि सहयोगीहरूको कुशल प्रयोग नै एकीकरणको सफलताको मुख्य आधार हो। सहयोगीहरू स्थानीय रक्षाको बोझ मात्र होइन, जनसंख्या, धन र नवप्रवर्तनलाई एकीकृत गरी दीर्घकालीन प्राविधिक तथा औद्योगिक प्रतिस्पर्धाका लागि आवश्यक छन्। चीनको आकारका कारण फाइदा छ। अमेरिकाको लागि अफसेट सहयोगीहरूलाई बढी रक्षा बोझ बोक्न लगाउने र उनीहरूलाई अमेरिकी औद्योगिक तथा प्राविधिक आधारमा गहिरो एकीकृत गर्ने संयोजनबाट आउनेछ। ट्रम्पको नीतिले धेरै सहयोगीहरूलाई पुराना सुरक्षा तथा नियामक दृष्टिकोण परिवर्तन गर्न कडा धक्का दिएको छ। तर ट्रम्पका झट्काहरूबाट उत्पन्न गतिविधिको उन्मादलाई रुस र चीनविरुद्ध संयुक्त शक्तिको व्यवहार्य ढाँचामा रूपान्तरण गर्न वर्षौंको काम बाँकी छ।

प्रतिद्वन्द्वी र सहयोगीहरूको प्रतिक्रियामा रहेको यी अनिश्चितताले एकीकरण रणनीतिमा आफ्नै जोखिम रहेको देखाउँछ। तर धेरै आलोचकहरूको दाबी विपरीत, एनएसएस मा उल्लेखित एकीकरण अमेरिकाले महाशक्ति बनेदेखि पछ्याएको परम्परागत महान रणनीतिसँग व्यापक रूपमा सुसंगत छ। त्यो रणनीति आफ्नो क्षेत्रमा प्रभुत्व कायम गर्दै बाह्य तीन प्रमुख क्षेत्र (एसिया, युरोप र मध्यपूर्व) मा शक्ति सन्तुलन कायम राख्ने हो। अमेरिकाले यो लक्ष्यबाट विचलन गरेको भए त्यो शीतयुद्धपछि विश्वव्यापी विस्तारवादी तर्क अँगालेर सम्पूर्ण विश्वलाई आफ्नो स्वरूपमा रूपान्तरण गर्ने क्षणमा थियो। अब त्यो असम्भव लक्ष्यबाट पछि हट्दै नयाँ एनएसएस ले अधिक विनम्र तर प्राप्त गर्न सकिने कुरालाई लक्ष्य बनाएको छ। आज विश्वका अन्य कुनै ठूला शक्तिभन्दा अमेरिकासँग आफ्नो अद्वितीय भूगोल, अर्थतन्त्र र जनसंख्याका कारण यो प्रकारको राष्ट्रिय पुनरुत्थान प्रयास गर्ने उचित सम्भावना छ।

अन्ततः, एकीकरण रणनीतिको गुणस्तर वैकल्पिकहरूसँग तौलिनुपर्छ। पूर्ण अलगाववादी रणनीति (जुन एनएसएसहोइन) ले वाशिंगटनले टार्न खोजेको विश्व संकट निम्त्याउन सक्छ। अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीय संस्थामार्फत उदारवादी विश्व सद्भावको यात्राबाट महाशक्ति प्रतिस्पर्धालाई पार गर्ने सपना मूर्खतापूर्ण छ। व्यापार–सम्झौता आवश्यक छैनन् भन्ने नाटक गर्दै ३८ ट्रिलियन डलरको राष्ट्रिय ऋणलाई बेवास्ता गरेर रक्षा बजेटमा अचानक बहु–गुणा वृद्धिबाट बहु–मोर्चाको दुविधा पार गर्न सकिन्छ भन्ने पनि विकल्प होइन। यदि विश्वयुद्ध आयो भने हामी चाँडै त्यो बिन्दुमा पुग्न सक्छौं, तर अमेरिकी नेताहरूको जिम्मेवारी अमेरिकीहरूको सुरक्षा र कल्याणलाई मुख्य लक्ष्य बनाई त्यसलाई टार्ने प्रयास गर्नु हो। व्यापार(सम्झौतालाई सक्रिय रूपमा सामना गर्दै अमेरिकी स्थिति एकीकरण गर्नु नै नयाँ एनएसएस को प्रयास हो। यसको सफलताका लागि हामी सबैले शुभकामना दिनुपर्छ।

(ए. वेस मिचेल द म्याराथन इनिसिएटिभका प्रमुख, पहिलो ट्रम्प प्रशासनमा युरोप तथा युरेसियाका पूर्व सहायक विदेशमन्त्री तथा पुस्तक Great Power Diplomacy: The Skill of Statecraft from Atilla the Hun to Kissinger लेखक हुन्।)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com