काठमाडौं ३० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने तयारी गरिएको आरोपसहित महान्यायाधिवक्ता सविता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
अभियन्ता युवराज सफलले बुधबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा पुगेर उजुरी दर्ता गराएका हुन्। उजुरीमा रवि लामिछानेमाथि चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने उद्देश्यले फाइल अगाडि बढाइएको दाबी गरिएको छ।
उजुरीकर्ताले मुद्दा फिर्ता प्रक्रिया आर्थिक चलखेल र प्रभावका आधारमा अघि बढाइएको आशंका व्यक्त गरेका छन्। महान्यायाधिवक्ता भण्डारी र रवि लामिछाने पक्षबीच गोप्य भेटघाट भएको र सोही आधारमा निवेदन दिन लगाएर फाइल अघि सारिएको उल्लेख उजुरीमा छ।
यसअघि डिम्ब तस्करीसम्बन्धी एक मुद्दा नचलाउने निर्णय पनि महान्यायाधिवक्ताबाट भएको भन्दै त्यसमा समेत आर्थिक चलखेल भएको दाबी गरिएको छ।
उजुरीकर्ताले दुवै मुद्दासँग सम्बन्धित सक्कल फाइल तत्काल जफत गरी अनुसन्धान गर्न अख्तियारसँग माग गरेका छन्। अदालतमा विचाराधीन मुद्दा चलखेलका आधारमा फिर्ता लिन खोज्नु पदको दुरुपयोग र भ्रष्टाचार हुने उल्लेख गर्दै कानुनअनुसार छानबिन र कारबाहीको माग गरिएको छ। उजुरीकर्ता सफलले तत्काल अनुसन्धान अघि नबढे सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्।










प्रतिक्रिया दिनुहोस्