काठमाडौं, १८ असोज । मनसुनी वायु थप बढी सक्रिय हुँदा देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हलदेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसोदेखि मधेश, वाग्मती, गण्डकी र लुम्बनी प्रदेशमा वर्षा हुनेछ ।
मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय भएको मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मौसमविद् प्रतिमा मानन्धरले शनिबार र आइतबार मुुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा सोमबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने जानकारी दिइन् ।
आज राति कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका अधिकांश स्थानमा, लुम्बिनीका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार दिउँसो भने देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
कोशी, मधेश र बागमतीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबार राति कोशी, मधेश, बागमती प्रदेशकालगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनीको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ ।
विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए। ‘शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ,’ उनले भने, ‘आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।’
आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्