काठमाडौं, ११ असोज । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान नभएको बताएका छन् । यस्ता कार्यले देशलाई अझै ठूलो क्षति पुर्याउन सक्ने उनले उल्लेख गरेका छन् ।
“मलाई थाहा छ, अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ । तर, हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान होइन,” उनले शनिबार (असोज ११) सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन् ।”
देशमा निर्वाचनको मिति तोकिएको र त्यो नै युवाको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएकामा उनले जोड दिएका थिए । “त्यसैले शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ,” उनले भनेका छन् ।
जेनजीको आन्दोलन घृणाको नभई आशाको भएको उनले स्पष्ट पारेका छन् । शान्त र दृढ रहन उनले आग्रह गरेका छन् ।
“हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन । निर्माणको हो, विनाशको होइन,” उनले लेखेका छन्, “सम्पूर्ण देशलाई देखाऔँ कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ । शान्त रहौँ, दृढ रहौँ, जय देश ।”
गएको भदौ २३ र २४ गते जेनजी आन्दोलन र त्यसपछि अन्तरिम सरकार गठनका क्रममा हामी नेपाल अगाडि देखिएको थियो ।








प्रतिक्रिया दिनुहोस्