काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिका-२६ गोंगबुका ७५ वर्षीय विनोद श्रेष्ठ वृद्धावस्थामा प्रहरी फन्दामा परेका छन् ।
सुनको ‘अवैध धन्दा’मा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई मंगलबार दिउँसो श्रेष्ठकै निवासबाट पक्राउ गरेको हो ।
श्रेष्ठको घरबाट तीन करोड ७५ लाख नगद र २ किलोग्राम सुन समेत बरामद भएको छ । उनले विभिन्न व्यक्तिका सुनका गहना धितो राखेर ब्याजमा पैसा दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले मिटर ब्याजको समेत धन्दा चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मंगलबार दिउँसो अपरेसन चलाएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी आफैं उक्त टोलीसहित पुगेका थिए ।
श्रेष्ठको घरमा ठूलो मात्रामा अवैध रकम रहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको थियो ।
ठूलो परिमाणमा नगद भेटिएका कारण गन्नलाई बैंकबाट मेसिन मगाइएको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी टेकबहादुर तामाङका अनुसार श्रेष्ठले पैसा ब्याजमा लगाउने प्रयोजनकै लागि पैसा थुपारेर राखेको आशंका छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउ परेका श्रेष्ठले गहना धितो राखेर ब्याजमा पैसा लगाउने गरेको सूचना पाएपछि प्रहरीले छापामा मारेको थियो ।
शुरूमा रकम मात्रै फेला परेको र कोठा थप सर्च गर्दा गहना समेत पोको पारेर लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्