ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या–ओली टकराव किन बढ्दै छ ?


कविराज विसी

नेपालको राजनीतिमा पछिल्ला दिनहरूमा धेरै चर्चा पाउन थालेको एउटा विषय भनेको पूर्व राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको असमझदारी हो । लामो समयसम्म एउटै दलभित्र सहकार्य गर्दै आएको यी दुई नेताबीच अचानक दूरी बढ्नु कुनै सामान्य घटना होइन । एमालेजस्तो ऐतिहासिक पार्टी, जहाँ गुटबन्दी र प्रतिस्पर्धा सधैं कुनै न कुनै स्वरूपमा देखिँदै आएको छ, त्यहाँ अहिले देखिएको विद्या–ओली टकरावलाई धेरैले भविष्यको ठुलो संकेतका रूपमा लिएका छन् । यस टकरावको मूल कारण के हो र किन यो चर्किँदै गएको छ भन्ने प्रश्नमा विभिन्न दृष्टिकोण छन् । ओली लामो समयदेखि एमालेको नेतृत्वमा एकछत्र रूपमा टिकेका नेता हुन् । पार्टीभित्र असन्तुष्ट आवाजहरू उठेपनि उनी संगठनात्मक संरचनामा बलियो जरा गाडेर बसेका कारण गम्भीर चुनौतीहरूलाई पनि व्यवस्थापन गर्न सफल हुँदै आएका छन् । तर, दीर्घकालीन नेतृत्वले स्वाभाविक रूपमा नयाँ वैकल्पिक शक्ति र नेताको खोजीलाई जन्म दिन्छ । यही सन्दर्भमा पूर्व राष्ट्रपति विद्या भण्डारीको नाम चर्चामा आउन थालेको हो ।

उनी पार्टीकै पुराना नेतृ मात्र होइनन्, नेपालकै पहिलो महिला राष्ट्रपति बनेकी ऐतिहासिक व्यक्तित्व पनि हुन् । राष्ट्रपतिका रूपमा गरेको अनुभव, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिक सन्तुलन गर्ने शैलीका कारण उनी अझ परिपक्व नेतृको रूपमा फर्किएकी छन् । यसैले उनको उपस्थितिलाई अब ओलीले सामान्य रूपमा लिन सक्ने स्थिति छैन । ओलीको शैली सधैं प्रत्यक्ष र कठोर मानिन्छ । उनले असन्तुष्टतालाई लामो समय टिक्न दिँदैनन् र प्रायः पार्टीका निर्णयहरू आफ्नै वरिपरि केन्द्रित गर्छन् । यही कारण उनका आलोचकहरूले उनलाई व्यक्तिवादी भनी व्याख्या गर्ने गरेका छन् । विद्या भण्डारी भने राष्ट्रपतिमा रहँदा सन्तुलन, संयमता र सहमतिको भाषा बोल्ने नेतृका रूपमा प्रस्तुत भइन् । उनी अहिले पनि मध्यमार्गी धारलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिन्छिन् । यही फरक शैली र दृष्टिकोणले दुवैबीच दूरी बढाएको हो । विद्या–ओली टकराव बढ्नुको अर्को प्रमुख कारण भनेको पार्टीभित्रको भावी नेतृत्व सम्बन्धी बहस हो । ओली पछि पार्टीको कमान कसले सम्हाल्छ भन्ने प्रश्न अझै अनिश्चित छ । युवा पुस्ता अझै बलियो भएर अगाडि आउन नसकेको अवस्थामा भण्डारी वैकल्पिक केन्द्र बन्नसक्छिन् भन्ने कुरा कार्यकर्तामा फैलन थालेको छ । केही नेताहरू यसलाई आफ्नो असन्तुष्टि व्यक्त गर्ने बाटोका रूपमा प्रयोग गर्न थालेका छन् । यसरी असन्तुष्ट नेताहरू विद्या भण्डारीतर्फ आकर्षित हुन थालेपछि ओली स्वाभाविक रूपमा सतर्क बनेका छन् र यही सतर्कताले दुवैबीचको सम्बन्धलाई चिसो बनाएको छ ।

राजनीतिक रणनीतिमा पनि दुवै नेताबीच भिन्न दृष्टिकोण छ। ओली प्रायः आक्रामक विपक्षी भूमिकामा देखिन्छन् । उनले आफ्नो पार्टीलाई शक्ति केन्द्रको रूपमा प्रस्तुत गर्न खोज्छन् र गठबन्धनलाई दीर्घकालीन समाधान मान्दैनन् । तर विद्या भण्डारी आफ्नो अनुभवका आधारमा संवाद, समझदारी र सहकार्यलाई महत्त्व दिनुपर्ने पक्षमा देखिन्छिन् । यस्ता फरक धार र सोचले स्वाभाविक रूपमा दुवैबीचको दूरी बढाउँछ। यसलाई वैचारिक भन्दा बढी राजनीतिक शैली र रणनीतिको टकराव भन्न सकिन्छ । पार्टीभित्र असन्तुष्टहरूको एउटा जमात लामो समयदेखि मौन छ । उनीहरू ओलीको वर्चस्वलाई प्रत्यक्ष चुनौती दिन सक्दैनन्, तर असन्तुष्टि मनभित्रै राखेका छन् । विद्या भण्डारी जस्तो प्रभावशाली नेतृ सक्रिय हुने संकेत पाएपछि उनीहरू स्वाभाविक रूपमा त्यतैतर्फ आकर्षित हुने अवस्था देखिन्छ । यसले ओलीलाई झन् चिन्तित बनाएको छ। उनलाई लाग्छ, भण्डारी मौन रहे पनि असन्तुष्टहरूलाई परोक्ष समर्थन दिइरहेकी छन्। यसरी शंका–आधारित राजनीति नै टकराव चर्कनुको अर्को कारण बनेको छ । यसबाहेक व्यक्तिगत सम्बन्ध र राजनीतिक दूरीको कुरा पनि छ । दुवै नेताबीच पहिलेदेखि नै केही असमझदारीहरू थिए तर त्यसलाई उनीहरूले सार्वजनिक रूपमा देखाएनन्। भण्डारी राष्ट्रपति हुँदा ओलीकै सरकारलाई संवैधानिक विषयमा सहयोग गर्ने काम भयो, जसलाई उनका आलोचकहरूले ओलीप्रति अत्यधिक नजिकिएको आरोप पनि लगाए। तर अहिले भूमिकाको परिवर्तनसँगै पुरानो असमझदारी खुल्दै गएको छ । व्यक्तिगत सम्बन्धको चिसोपन र राजनीतिक प्रतिस्पर्धाको दबाब मिसिँदा टकराव अझ बढेको हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको राजनीतिक भविष्यसँग सम्बन्धित छ । विद्या भण्डारी पुनः प्रत्यक्ष राजनीतिमा फर्किन्छिन् वा पर्दा पछाडि मात्रै रहन्छिन् भन्ने कुरा अझै स्पष्ट छैन । तर, उनले चुपचाप बस्ने मनस्थितिमा नभएको संकेतहरू देखिन थालेका छन् । उनी चाहेमा महिला, युवा र मध्यमार्गी नेताहरूलाई संगठित गरेर वैकल्पिक धार बनाउन सक्छिन ्। ओलीलाई यिनै सम्भावनाले चिन्तित बनाएको हो। किनभने यो संभावना उनले आफ्नो दीर्घकालीन पकडलाई चुनौती दिनसक्ने खतराको रूपमा देख्छन् ।

यो टकराव तत्कालै ठूलो विस्फोटका रूपमा देखा पर्ने सम्भावना कम भए पनि दीर्घकालीन रूपमा भने यसको असर एमालेको भविष्यमै पर्नेछ । असन्तुष्ट कार्यकर्ताहरू विद्या भण्डारीतर्फ आकर्षित भए भने गुटबन्दी प्रस्ट हुनेछ । यसले ओलीलाई निरन्तर दबाबमा राख्नेछ र पार्टीको एकता–छवि कमजोर पार्नेछ । पार्टी कार्यकर्ता दुई धारमा विभाजित भए चुनावी नतिजामा पनि नकारात्मक असर पर्नेछ । यसरी लगातार बढ्दै गएको टकरावले एमालेलाई कमजोर पार्ने खतरा स्पष्ट देखिन्छ । विद्या–ओली टकराव कुनै सामान्य असमझदारी होइन । यो शक्ति सन्तुलन, व्यक्तित्व–केन्द्रित राजनीति र भावी नेतृत्व सम्बन्धी प्रतिस्पर्धाको परिणाम हो ।

तत्कालै ठूलो परिवर्तन नआउला तर लामो समयसम्म समाधान नभए यसले एमालेलाई वैकल्पिक धारतर्फ धकेल्नेछ र अन्ततः पार्टीभित्र विभाजन वा कमजोर अवस्थाको बाटो खोल्नेछ । यही कारण अहिले देखिएको विद्या–ओली टकरावलाई नेपाली राजनीतिका विश्लेषकहरूले गम्भीर चेतावनीका रूपमा लिएका छन् । यदि पार्टीभित्र संवाद र विश्वास पुनःस्थापना भएन भने यो टकराव चर्किंदै जाने निश्चित छ र यसको प्रत्यक्ष असर एमालेको मात्र नभई समग्र देशको राजनीतिक स्थिरतामै पर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com