काठमाडौँ ७ साउन । एबीसी टिप्पणीः सत्तारुढ नेकपा एमालेले पूर्वराष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेर आत्मघाती बाटो रोजेको छ । भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा आउन नदिने कारणमा अध्यक्ष केपी शर्मा ओलीको सुझावलाई बेवास्ता गर्दै चुनौती दिएकाले पार्टीमा नफर्कन आग्रह गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सुनाउँदै गर्दा स्वयं उनी पटक्कै खुशी थिएनन् ।

‘पार्टी अध्यक्षले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा उहाँले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएकोले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्क नदिने ओलीले निर्णय सुनाउँदै गर्दा एकतिहाई भन्दा बढी केन्द्रीय सदस्हरुको ताली नबजेबाटै यो निर्णय कति अप्रिय छ भन्ने कुरालाई स्पष्ट गर्न सक्छ ।
सैद्धान्तिक रुपमा उदार संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपति भइसकेको नेता पुनः सक्रिय राजनीतिमा फर्किन हुने कि नहुने विशुद्ध व्यक्तिगत आदर्श र नैतिकताको विषय हो । यो कुनै कानुनी वा संवैधानिक विषय होइन ।


अध्यक्ष ओलीको निर्णय भन्दै प्रचार विभाग प्रमुख गौतमले भने ‘उहाँ राजनीतिमा आउन हुँदैन, सम्भव हुँदैन,आउन मिल्दैन, यसले हाम्रो मान्यता बिग्रन्छ, यसले गलत नजिर र अभ्यास हुन्छ ।’ यसले सिंगो एमाले केन्द्रीय कमिटिको हतास मानसिकतालाई प्रतिविम्वित गर्दछ ।
ओलीको अप्रिय निर्णय घोषणा गर्ने वित्तिकै उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेको यस्तै कारबाही पर्वको इतिहास सम्झाएका थिए । २०५४ सालमा नेपालगन्जमा भएको छैटौं महाधिवेशनमा तत्कालीन विद्यार्थी नेताहरु योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई हटाउने निर्णय एमालेको जीन्दगीमा महँगो पर्न गएको सन्दर्भलाई पाण्डेले ठीकसँग सम्झेको घटना अर्को रुपमा २०८२ सालमा एमालेमा दोहरिएको मान्न सकिन्छ । ‘छैटौं महाधिवेशनबाटै योगेश र रुपनारायणलाई सदस्यबाटै हटाइयो, त्यो पछि मान्य नभएको भन्दै पाण्डेले ओली रोकिन गरेको आग्रहलाई वेवस्ता गर्दै उनले बैठक सकिएको भन्दै बाहिरिएबाट सवैभन्दा अनुशासिक पार्टी संसदीय भद्रगोलको अवस्थामा प्रवेश गरेको छ ।
छैटौं महाधिवेशनको नेपालगन्ज पर्वले एमाले विभाजन भएर माले बनेको थियो।
अध्यक्ष तथा प्रधानमन्त्रीका अगाडि अधिकांशा नेता डराएर सत्य बोल्न नसकेको निष्कर्ष सहित पाण्डेले जसरी रुसी कम्युनिष्ट पार्टीको सन्दर्भ कोट्याएका छन्, यसले पक्कै पनि एमालेलको आन्तरिक जीवनमा नयाँ द्धन्द्ध विजारोपण हुन पुगेको छ । रुसी कम्युनिष्ट पार्टीमा स्टालिन जिवीत रहेसम्म तत्कालनी उत्तराधिकारी खुश्र्चेबले उनको चाकरीमा निर्लिप्त भएका थिए । जसै स्टालिनको निधन भयो सवैभन्दा चर्को रुपले स्टालिनका बद्मासी दुनियाका सामु भण्डाफोर गर्ने अभियानको उनले नै अगुवाई गरे । समयक्रममा रुसी कम्युनिष्ट पार्टी मात्रै होइन, सोभियत संघ नै विघटन हुन पुग्यो ।
धन्न ! नेपालमा कुनै एकल कम्युनिष्ट पार्टीको बर्चस्व वा देश कव्जा गरेको अवस्था छैन ।
विद्या भण्डारीलाई कम नआँक्न ओलीलाई अर्का उपाध्यक्ष युवराज ज्ञवालीले दिएको चेतावनीले अब एमाले एकतावद्ध नभएको प्रष्टै संकेत गरेको छ। ‘दुईपटकको उपाध्यक्ष, पूर्वराष्ट्रपति, मदन भण्डारीसँग लिगेसी जोडिएको नेता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरिसकेको मान्छेलाई कम आँक्नु हुन्न’, ज्ञवालीले आगामी संकट संकेत गर्दै भनेका छन्, ‘यो निर्णय फिर्ता नलिने हो भने ठूलो संकट आउन सक्छ, पार्टी बिग्रहमा जान सक्छ ।’
युवरजा ज्ञवालीले बोलिरहँदा बीचबीचमै ओलीले जस्तो संकट आए पनि ‘सामना गर्ने’ र पार्टी विभाजन भएपनि ‘सहने’ बताएबाटै विभाजनको आत्मघाती विऊ रोपिएको प्रष्टै भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीसँग केन्द्रदेखि तल्लो तहसम्मै समर्थकहरुको श्रृंखला रहेको छ ।ओलीले ‘भण्डारीलाई पार्टीले नै राष्ट्रपति बनाएर पठाएको तर राष्ट्रपतिबाट विदा भएपछि रिपोर्टिङ गर्न एकपटक पनि पार्टी अफिस नआएको’ समापन मन्तव्य व्यक्त गरेको कुरा आपसमा तादम्यता खाने नदेखिएबाटै दुई शीर्ष नेताबीच गम्भीर व्यक्तित्व टकराव ले पुनः एमालेको आन्तरिक स्वास्थ्यलाई कमजोर बनाउँदै गएको प्रष्टै छ ।
ओलीले बैठकमा भण्डारीप्रति गुनासे भने लामै गरेका छन्। हुनसक्छ दुई शीर्षबीच आशातित स्वार्थ पूरा नभएको हुनसक्छ । तर नेतृत्वले निर्णय भने राजनीतिक गर्नु पर्छ । देशभर नेतृत्वको पुस्तान्तरण र पुराना दल तथा नेताहरुले देश खतम गरेको भाष्य बनिरहकेका बेला एमालेभित्र विजारोपण भएको विवादले झनै अन्योल उत्पन्न गर्ने र देशलाई अस्थिरतातर्फ लैजान चाहने धेरैखाले स्वार्थ समूह र शक्ति केन्द्रलाई बल पुग्ने निश्चित छ
‘आफूसँग सल्लाह नगर्ने, तर टेलिभिजन अन्तर्वार्ता र सार्वजनिक कार्यक्रम गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिएको ओलीको ब्रिफिङ थियो । ‘टेलिभिजनमा पार्टी सदस्यता नवीकरण गरेँ, र अध्यक्ष हुन नवीकरण गरेको हुँ भनेर स्टेटमेन्ट दिनुभयो । एउटा मात्रै अध्यक्ष छ, अरु पनि साथीहरु हुनुहुन्छ । त्यो भएकाले उहाँलाई बनाउन सकिने छैन । सल्लाह पनि गर्नुभएन’, ओलीले भने, ‘उल्टै पत्रकार सम्मेलन गर्ने, माझ किराँतको छोरी हुँ भनेर धम्क्काउन थालेपछि अझ संम्भव भएन ।’
मध्यराती नै सार्वजनिक भएका टिप्प्णीमा ‘आफू नभए कुर्सी नै भाँचिदिन्छु भन्ने उहाँको शैली पार्टीमा फेरि देखियो । यसले ल्याउने संकट भावी दिनमा देखिनेछ’ मिडियाको सम्पर्कमा आएका नेताहरुले भनिरहेका छन् ।
तर ओलीले आफूलाई चुनौती दिने पूर्वराष्ट्रपति भण्डारी र पार्टी विधानको व्यवधान एकैपटक हटाउने निर्णय लिएका लिएर गम्भीर जोखिम उठाएका छन् । यतिबेला के भन्न सकिन्छ भने एमालेको पार्टी जीवनमा धेरै पटक यस्ताखाले अप्रिय निर्णयहरु परिवर्तन भएका छन् । दुश्मनीपूर्ण सार्वजनिक आरोपप्रत्यारोपमा उत्रेका नेताहरु पुनः एकै ठाउँमा पनि बसेका छन् । तसर्थ एमालेजस्तो तुलनात्मक रुपमा सुव्यवस्थित र संगठित पार्टीले थप क्षति हुने विध्वंसकारी बाटो लिने उन्मादलाई रोक्नु देश र लोकतन्त्रका लागि योगदान हुनेछ भन्ने भुल्न मिल्दैन ।








प्रतिक्रिया दिनुहोस्