काठमाडौं ४ साउन । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको छलफल सकिएको छ।
उनीहरुबीच एमाले पार्टी केन्द्रीय कार्यालयमा झण्डै दुई घण्टा छलफल चलेको थियो।
छलफलका लागि पूर्वराष्ट्रपति भण्डारी करिब साढे ३ बजेतिर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी थिइन्। अध्यक्ष ओली भने करिब ४ बजेतिर कार्यालय आएपछि उनीहरूबीचको एक्लाएक्लै छलफल सुरु भएको थियो।
छलफल सकिएपछि भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन् भने अध्यक्ष ओली केही बेर कार्यालयमै बसेका थिए ।
महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयो : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको
अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका थिए ।
उनले अहिले पार्टी राजनीतिबारे बाहिर आइरहेका विषयमाथि उनीहरूबीच छलफल चलिरहेको बताए ।
‘जुन अहिलेको ज्वलन्त कुरा बाहिर आएको छ त्यही विषयमा केन्द्रित भएर कुराकानी भएको छ,’ पोखरेलले भने ।
उनलाई सञ्चारकर्मीले पार्टीले सदस्यता त पेन्डिङमा राखिदियो नि रु भनेर प्रश्न गरेका थिए ।

जवाफमा पोखरेलले भने, ‘सदस्यता नवीकरण गरिसकेको विषय त महासचिवले नै भनिसक्नुभएको छ ।’
उनले आजको छलफलमा जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल भइरहेको हुनसक्ने बताए ।
पार्टीमा आृँदा पनि सल्लाह गरेर आउनेगरी छलफल भइरहेको उनले बताए ।
भण्डारीको सदस्यता नवीकरण प्राविधिक, ओलीसँगको भेट महत्त्वपूर्ण : योगेश
उता एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेका बताएका छन् ।
ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
‘यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ । हाम्रो पार्टीभित्र उत्पन्न विषय कसरी हल गर्ने भन्ने मोडल पनि यसबाट निस्कनुपर्छ,’ भट्टराईले भने ।
पार्टी बैठकमा नेताहरूले राखेको सुझाव अनुसार नै आज भेटवार्ता भएको भट्टराईले बताए ।
‘पार्टीभित्र चलिरहेको एउटा बहस छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने र भूमिका खेल्ने भन्ने विषय सार्वजनिक रुपमा उहाँले राख्नुभएको छ । अधिकांश नेताहरूले पार्टी अध्यक्षसँग कुराकानी हुनुपर्छ,’ भट्टराईले अघि भने, ‘यो विषय आफ्ना आफ्ना कोणबाट अभिव्यक्ति दिने भन्दा पनि छलफल गरेर उपयुक्त कुराको निकास निकाल्नुपर्छ भनेर सबैले सुझाव दिनुभएको छ । सोही अनुसार भेटवार्ता भएको हो ।’
भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय भने प्राविधिक रहेको जिकिर गरे ।
‘सदस्यताको विषय प्राविधिक कुरा हो । प्राविधिक कुरा टुंगिनु अघि राजनीतिक कुरा त्यसअघि टुंग्याउनुपर्छ,’ उनले भने, ‘प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक छैन । मुख्य कुरा भनेको राजनीतिक कुरा हो । त्यो टुंगिएपछि यो त भइहाल्छ ।’
विद्या भण्डारीले यो वर्षको सदस्यता नवीकरण गरिसक्नु भयो : कर्ण थापा
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
हिजो मात्रै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरणको विषय पेन्डिङमा रहेको बताएका थिए ।
तर, हिजो र अस्ति दुई दिन बसेको बैठकमा सदस्यताबारे कुनै निर्णय नभएको बताउँदै अघिल्लो वर्षको सदस्यता नवीकरण एक वर्ष अघि नै भएको र यो वर्षको पनि नवीकरण भइसकेको उनले दाबी गरे ।
‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको एक वर्षअघि नै गर्नुभएको हो र यो वर्षको पनि भइसकेको छ,’ थापाले सञ्चारकर्मीसँग भने ।
उनले शुक्रबार र शनिबार बसेको पार्टी बैठकमा सदस्यताबारे निर्णय नभएको पनि बताए ।
‘कसले के भन्नुभयो थाहा छैन । तर, हिजो कुनै निर्णय भएको होइन । पेन्डिङमा होइन । हिजो त्यस्तो निर्णय भएको होइन,’ थापाले भने ।
अहिले ओली र भण्डारीबीच वार्ता जारी छ । थापाका अनुसार, दुवै जना एक्लाएक्लै छलफलमा छन् । सचिवालय र पोलिटब्युरो बैठकमा आएको सुझाव अनुसार नै उनीहरूबीच वार्ता चलिरहेको उनले बताए ।
‘उहाँहरूले छलफल गर्नुअघि बस्यौं । दुवै जना प्रफुल्ल मुद्रामा हुनुहुन्छ । लामो सहयात्राका कुराहरू पनि गर्नुभयो । अहिले राजनीतिक वार्तामा प्रवेश गर्नुभएको छ । उहाँहरू दुई जनाबीच मात्रै छलफल भइरहेको छ,’ थापाले भने ।
पार्टीभित्र द्वन्द्व समाधान हुन नसक्ने अवस्थामा पुगेको जस्तो आफूलाई नलागेको पनि उनले बताए ।
उनले दुई जनाबीच कुनै कित्ताकाट नभएको पनि जिकिर गरे ।
‘अहिले कुनै पनि कित्ताकाट छैन । पछि महाधिवेशनबाट को के मा उठ्ने कसरी अघि बढ्ने भन्नेबारे हुन्छ । अहिले कुनै कित्ताकाट छैन,’ थापाले भने ।







प्रतिक्रिया दिनुहोस्