काठमाडौ २६ असार । ललितपुरमा सञ्चालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा आज फूल राखेर मल्ल राजालाई निमन्त्रणा दिने कार्य हुँदैछ ।
हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा सञ्चालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्यायको परिवारको अगुवाईमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल राजालाई फूल, जनै, सुपारीलगायत राखेर निमन्त्रणा दिने गरिन्छ ।
१७४१ सालमा राजा बनेका योगनरेन्द्र मल्ललाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ । दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उहाँका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको हुन्छ । २०४६ सालसम्म उहाँका लागि भनेर हरेक बिहान तमाखु लिएर जाने गरिन्थ्यो ।
दरबार अगाडि रहेको योगनरेन्द्र मल्लको शालिकको टाउकोमा एउटा चरा पनि छ । उहाँले आफू मर्ने बेलामा त्यो चरा उडेर नगएसम्म आफूलाई ज्युँदै रहेको भन्ठान्नू भनेका कारण अहिलेसम्म पनि योगनरेन्द्र जीवितै रहेको विश्वास गरिन्छ ।
यही विश्वासमा ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा मल्ल राजालाई पाटन दरबारको तुसाहिटीमा रहेको शिलाको खातमा निमन्त्रणा स्वरूप फूल राख्ने गरिन्छ ।
हाल गुथी संस्थान ललितपुरका प्रमुखको उपस्थितिमा फूल राख्ने गरिन्छ । मल्ल राजालाई निमन्त्रणा दिएपछि मात्र राष्ट्रपति, गुथिका थकालीहरुलगायतलाई जात्रामा सामेल हुन निमन्त्रणा दिने गरिन्छ ।
आज दिउँसो १ बजे नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राख्ने विधि हुँदैछ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन नृसिंह जात्रा सञ्चालन हुने गर्दछ भने यसवर्ष साउन २९ गते यो जात्रा सञ्चालन हुँदैछ ।
यस वर्षको जात्रा सञ्चालन गर्न जिम्मा गाःबहालको मधुर शर्मा राजोपाध्यायको परिवारले पाएको छ । ललितपुरका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ ।
यो जात्रा नेपाल सम्वत् ७५१‚ अर्थात् विक्रम सम्वत् १६८८ देखि निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।








प्रतिक्रिया दिनुहोस्