काठमाडौ १९ असार । समाचारको विषयलाई लिएर पत्रकारलाई अशिष्ट गाली गरेको भन्दै नेपाल पत्रकार महासंघले नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
लहान नगरपालिकाका उपमेयर रामचलितर महतोसँग सम्बन्धित समाचारको विषयलाई लिएर उनले नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवलाई सामाजिक सञ्जालमा अशिष्ट भाषा प्रयोग गरी गालीगलौज गरेका थिए । यसप्रति महासंघको केन्द्रीय कार्यसमितिले ध्यानाकर्षण जनाउँदै निन्दा गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघका शाखा अध्यक्षलाई अश्लील गालीगलौज गर्ने नगर अध्यक्ष साहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा व्यक्तिको सामाजिक चरित्र र प्रतिष्ठामा आघात पुर्याउनु अत्यन्त निन्दनीय र सामाजिक अपराध हो, महासंघको विज्ञप्तिमा भनिएको छ, महासंघ यस्तो हर्कतको भर्त्सना गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गरी सुरक्षित एवं भयरहित पत्रकारिताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्याकर्षण गराउँदछ ।








प्रतिक्रिया दिनुहोस्