काठमाडौं १२ असार । गत वर्ष चैतमा सम्पन्न एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको हो।
गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।
यसवर्ष ६१ प्रतिशत विद्यार्थी ग्रेडड भएका छन्।
परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, टेलिफोन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सक्नेछन्।
यसवर्ष एसईईको नतिजा असार ७ गते प्रकाशित हुने भनेर मिति तोकिएको थियो। तर, शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएपछि कापी जाँच प्रभावित भएको थियो।
लामो आन्दोलनपछि शिक्षक र सरकारबीच सहमति जुटेपछि शिक्षकहरू कापी जाँच्न तयार भएका थिए।







प्रतिक्रिया दिनुहोस्