काठमाडौं, २७ वैशाख । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत द्वन्द्व चर्कियोस् भन्ने पक्षमा नभएको तर देश र जनताको रक्षाको पक्षमा भने कोहीकसैसँग सम्झौता गर्ने पक्षमा रहेको बताएका छन् । राजदूत श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा उक्त कुरा बताएका हुन । उनले जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा समेत खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए । यसैगरी यहाँका समग्र नागरिक समाज र विशेषगरी आमसञ्चार क्षेत्रबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
काश्मीरको पहलगाममा एक नेपालीसहित २६ जना निर्दोष मानिसको ज्यान लिनेगरी भएको आतङ्वादी हमला र त्यसपछि विकासित घटनाक्रमका बारेमा जानकारी दिँदै राजदूत श्रीवास्तवले पहलगाम हमलामा पाकिस्तान जिम्मेवार रहेको जानकारी दिए । उनले पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको र जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदालाई लक्षित गरी लगातार आक्रमण गरिहेको र जसरी हुन्छ दुई देशबीच द्वन्द्व चर्काउन खोजिरहेको भनी खेद प्रकट गरे।
पाकिस्तानले सीमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमणलाई तीव्रता दिइरहेको, काश्मीर क्षेत्रस्थित ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्ट ध्वस्त बनाएको र १६ जना भारतीयको मृत्यु भएको जानकारी दिँदै राजदूत श्रीवास्तवले यस किसिमको अपूरणीय क्षतिका बावजुद् भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारवाही मात्र गरेको स्पष्ट पारे ।
पाकिस्तान सरकारकातर्फबाट छिमेकी दुई देशबीचको द्वन्द्वलाई बढवा दिने गरी नियोजित रूपमा लगातार गलत र भ्रामक सूचना सम्प्रेषण भइरहेकामा खेद व्यक्त गर्दै राजदूत श्रीवास्तवले भने, “भारत द्वन्द्व चर्कियोस् भन्ने पक्षमा छैन तर देश र जनताको रक्षाको पक्षमा भने कोहीकसैसँग सम्झौता गर्ने पक्षमा छैन । यता पाकिस्तानी जनतासमेत शान्तिका पक्षमा देखिन्छन्, सम्पूर्ण विश्व समुदाय आतङ्कवादको विरुद्धमा उभिएको अवस्था छ, यसतर्फ पाकिस्तानी सरकार र त्यहाँका सेनाको ध्यान जान जरुरी छ ।” पाकिस्तानी पक्षबाट भ्रम फैलाइएजस्तो सीमा क्षेत्रमा जारी द्वन्द्वमा भारतीय पक्षको क्षति नभएको उनले स्पष्ट पारे । राजदूत श्रीवास्तवले भारतका जिम्मेवार आमसञ्चारमाध्यम र निकायबाट युद्धलाई प्रश्रय दिने काम नभएको दाबी गर्दै जारी द्वन्द्वसम्बन्धी यथार्थ एवं वास्तविक समाचारका लागि राज्यका आधिकारिक निकायसँग भर पर्न अनुरोध गरे ।
भारतीय राजदूत श्रीवास्तवले सम्पादकहरुसँगको आतङ्कबाद, आतङ्कवादी हमलासहित काश्मीर क्षेत्रमा जारी द्वन्द्वबाट भारत र पाकिस्तान मात्र नभई सार्क क्षेत्रसहित समग्र विश्व नै प्रभावित हुने भएकाले आतङ्कबादका विरुद्ध डटेर सामना गर्दै विश्व शान्तिका पक्षमा अन्तरराष्ट्रियजगत एक हुनुपर्नेमा जोड दिए । अवसरमा सञ्चारकर्मीको जिज्ञासामा राजदूत श्रीवास्तवले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको जानकारी दिँदै आतङ्कवादको विरोधसहित त्यसका विरुद्ध हुने कदमप्रति प्रधानमन्त्रीबाट ऐक्यबद्धता प्रकट भएकामा खुशी व्यक्त गरे ।








प्रतिक्रिया दिनुहोस्