काठमाडौं १४ बैशाख । नेपाल शिक्षक महासङ्घले केही पालिकाले शिक्षकहरूलाई विद्यालय खोल्न र पठनपाठन शुरू गर्न गरेको आग्रहमा असन्तुष्टि जनाएको छ ।
महासङ्घले आफूहरूको आन्दोलन निरन्तर रहेको र शिक्षकरकर्मचारीलाई दबाव दिने, सरुवा गर्ने वा राजीनामा गर्न लगाउने जस्ता काम बन्द गर्न अनुरोध गरेको छ ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले निकालेको विज्ञप्तिमा संविधानले दिएको सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्न पालिकालाई आग्रह समेत गरेको छ । महासङ्घले गएको चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन र शैक्षिक हडताल गर्दै आएको छ ।
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउन र विद्यालय सञ्चालन गर्न सर्वोच्च अदालतले गएको बिहीवार दिएको तीन दिनको समयसीमा आज सकिँदैछ । तर सरकार र शिक्षकहरूबीच अहिलेसम्म सहमति जुट्न सकेको छैन । शिक्षक आन्दोलन आज २६औं दिनमा पुगेको छ ।







प्रतिक्रिया दिनुहोस्