काठमाडौं २६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन्। सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्नेमा उनले जोड दिए।
नेपाली कांग्रेस गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सिर्जना हुने बताए। उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने उल्लेख गर्दै राम्रो कामको प्रचार गर्न आफूहरू तयार रहेको बताए।
कांग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको जिकिर गर्दै महामन्त्री थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर कांग्रेस थिचिएर बस्न नसक्ने बताए। एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवारी उसैले लिनुपर्ने तर त्यसको जिम्मेवारी कांग्रेसले नबोक्ने उनको भनाइ थियो।
पछिल्लो समय आम नागरिकमा देखिएको असन्तुष्टिलाई चिन्ने र चिर्ने काम कांग्रेसको काँधमा आएको महामन्त्री थापाले बताए। देशमा ठूला दलले केही गरेनन् र केही भएन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरण जगाउनुपर्नेमा उनले जोड दिए।








प्रतिक्रिया दिनुहोस्