काठमाडौं २६ चैत । महाकाली वारि नेपाल र पारि भारत दुवै क्षेत्रमा एक महिनासम्म लाग्ने पूर्णागिरि धार्मिक मेलामा दुवै देशका दर्शनार्थीको ओइरो लागेको छ।
परापूर्वकालमा आफ्ना भक्त सिद्धबाबालाई प्रसन्न भएर पूर्णागिरिले आफ्नो र सिद्धबाबाको दर्शन गरेपछि मात्रै मनोकांक्षा पूरा हुने वरदान दिएको किंवदन्तीका कारण उक्त मेलामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको हो।
मेलाका कारण यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका(९ स्थित ब्रह्मदेव र भीमदत्त नगरपालिका(४ स्थित महेन्द्रनगर बजारमा बाक्लो भीडभाड देख्न सकिन्छ।
स्थानीयका अनुसार महेन्द्रनगर र ब्रह्मदेवमा दैनिक १० हजार हाराहारीमा दर्शनार्थी आइरहेका छन्। हरेक वर्ष फागु पूर्णिमामा सुरु हुने पूर्णागिरि मेला वैशाख पूर्णिमासम्म लाग्छ।
नेपालतर्फ सिद्धबाबा मन्दिर र भारततर्फ पूर्णागिरि मन्दिरको दर्शन गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
पूर्णागिरि मेलामा नेपालका विभिन्न जिल्ला तथा भारतका उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसम्मका मानिस आउने गरेका छन्।
भारत रामपुरका सुरेश खाम सिद्धबाबाको दर्शन गर्न महेन्द्रनगर आइपुगेका छन्। उनीसँगै रामपुरकै डेढ सयभन्दा बढी श्रद्धालु आएका छन्।
उनले सोमबार नेपालखबरसँग भने, ‘हामी हरेक वर्ष पूर्णागिरि माताको दर्शन गर्छौं। पूर्णागिरि पुगेपछि सिद्धबाबाको पनि दर्शन गर्नैपर्ने विश्वास छ। मनोकाँक्षा पूरा हुन्छ। त्यसैले परिवारै यहाँ आएका छौँ।’
उक्त मेलालाई दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध दर्शाउने माध्यम पनि मानिन्छ। मेलाले ब्रह्मदेव र महेन्द्रनगरमा दर्शनार्थीको भीडभाड बढे पनि व्यापार भने अपेक्षाकृत बढ्न नसकेको व्यापारीहरू बताउँछन्।
केही वर्षअघिसम्म मेला अवधिमा दुवै स्थानमा राम्रै व्यापार हुने गरेको थियो। खासगरी चिनिायाँ सामानको कारोबार बढी हुन्थ्यो।
तर अहिले चीनमा उत्पादन हुने सामान भारतमै सहजै र सस्तो उपलब्ध हुन थालेपछि व्यापार घट्दो क्रममा छ।








प्रतिक्रिया दिनुहोस्