काठमाडौं २७ फागुन । युक्रेन र अमेरिकाबीचको शान्ति वार्ता शुरू हुनुभन्दा अगाडि युक्रेनले मस्को र वरपरको क्षेत्रमा रातभर ठूलो ड्रोन आक्रमण गरेको रुसले बताएको छ । मस्कोमा भएको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
क्षेत्रीय गभर्नर आन्द्रेई वोरोब्येभले ड्रोन आक्रमणबाट एक आवासीय भवनमा रहेका सात वटा अपार्टमेन्टमा क्षति पुगेको बताउनुभएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरतर्फ गइरहेका ७३ वटा ड्रोनलाई खसालिएको र एउटा भवनको छानामा ड्रोनको भग्नावशेषले क्षति पुगेको उल्लेख गर्नुभयो ।
आक्रमणपछि मस्कोको एउटा जिल्लामा रेल नेटवर्क निलम्बित गरिएको र विमानस्थलहरूमा उडान प्रतिबन्ध लगाइएको बीबीसीको खबरमा उल्लेख छ ।
रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाका प्रतिनिधिबीच साउदी अरेबियामा वार्ता हुने क्रममा यो आक्रमण भएको हो । युक्रेनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बस्न लागेका हुन् ।








प्रतिक्रिया दिनुहोस्