काठमाडौं १० फागुन । हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा मोबाइल डाटा सेवा ‘फोरजी’ सञ्चालनमा आएपछि सहज भएको छ । सूचना आदान प्रदानसँगै दैनिक काममा भोग्दै आएको अप्ठारो हटेको सेवाग्राहीले बताएका छन् ।
२०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाण्डौ र पोखराबाट फोरजी सेवाको शुरूआत गरेको थियो । तर वषौँदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्ला, मुगुलगायतका जिल्लाका बासिन्दाले समस्या भोग्दै आएका थिए ।
अदानचुली गाउँपालिका–१ कल्खेका अम्मर रावलले मोबाइलमा कुरा गर्न कता अग्लो डाँडा छ भनेर खोज्दै हिड्नुपर्ने अवस्थाबाट अहिले घरमै बसेर आरामले कुरा गर्न सक्ने भएको बताउनुभयो ।
यसअघि वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर इन्टरनेटसम्बन्धी काम गर्नुपरेकोमा अब घरघरको कुनामै बसेर भिडियोकल नै गर्न पाउदाँ खुशीको सीमा नै नरहेको अदानचुली गाउँपालिका–५ का सिंह बोहराले बताउनुभयो ।
दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा ‘फोरजी’ सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।
गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि पालिकाबाट गर्नुपर्ने दैनिक काममा समेत सहज भएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो । ‘फोरजी’ सेवा विस्तारले गाउँमा सेवासुविधा तथा मनोरन्जन र सूचना आदान प्रदानको काम सहज भएको छ ।
त्यस्तै अदानचुली च्याममा राखिएको टावर आजदेखि सञ्चालनको तयारी छ । दुई वर्षदेखिको निरन्तर प्रयासमा सेवा सञ्चालनमा ल्याउन सफल भएको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो ।
अबदेखि विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा शुरू गर्न सकिने अवस्था बनेको जनप्रतिनिधिले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्