काठमाडौं ८ फागुन । भारतको ओडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० पढ्ने सबै विद्यार्थी छात्राबास फर्कन सकेका छैनन् ।
विश्वविद्यालयले माफी माग्दै फर्कन आग्रह गरे पनि कोही विद्यार्थी स्वदेश आइपुगेका छन् भने कोही भारतमै आफन्त कहाँ बसिरहेका छन् । थोरै विद्यार्थी मात्रै छात्राबास फर्किएका छन् ।
त्यहाँ एक हजारभन्दा धेरै नेपाली विद्यार्थी रहेकोमा झण्डै एक सय जनामात्रै छात्राबास फर्किएका हुन् । झण्डै दुई सय नेपाली विद्यार्थी विभिन्न नाका हुँदै स्वदेश आइपुगेका छन् ।
विश्वविद्यालयको छात्राबासमा गरिएको अमानवीय व्यवहारका कारण विद्यार्थीहरू अझै त्रासमा छन् । नेपाल आइपुगेका विद्यार्थीहरूले आफूहरु तत्काल विश्वविद्यालय फर्किने मनसायमा नरहेको बताएका छन् ।
विश्वविद्यालयले भने विद्यार्थीहरूलाई फोन, म्यासेज तथा ईमेल गरेर समेत फर्किन अनुरोध गर्दै आएको छ । विश्वविद्यालयका पदाधिकारीहरुले विद्यार्थी र अभिभावकसँग जुम बैठक गरेर रेल खर्च बेहोर्ने र पूर्ण सुरक्षा तथा सम्मानको प्रत्याभूति रहने आश्वासन दिएका छन् ।
दिल्लीमा रहेको नेपाली दूतावासका पदाधिकारीले पनि ओडिसा पुगेर त्यहाँको सरकार र विद्यार्थीसँग समन्वय गरेका छन् । विश्वविद्यालयका पदाधिकारीले माफी मागेको र अवस्था सामान्य बन्दै गएको दूतावासका पदाधिकारीहरुको भनाइ छ । भारतीय पक्षले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाली विद्यार्थीलाई कुटपिट र दुर्व्यवहार गर्ने विश्वविद्यालयका पदाधिकारीहरु यसअघि नै निलम्बनमा परिसकेका छन् । यसैबीच केआईआईटी विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव हिजो भैरहवा ल्याएर आज बिहान स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्