काठमाडौं ६ फागुन । मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११।९१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७३९ मा कायम भएको छ ।
बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो ।
८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन अन्य समूह सबैभन्दा धेरै ३।६७ प्रतिशत बढ्यो ।
यो सेक्टरमा सूचीकृत दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य क्रमशः ६।८ र ४।३ प्रतिशतले बढ्दा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो । साथै सो सेक्टरका नेपाल वेयरहाउजिङ, नेपाल टेलिकम, मुक्तिनाथ कृषि कम्पनीको मूल्य पनि बढ्यो ।
बैंकिङ ०।२२, लगानी १।२४, जीवन बीमा १।७४, निर्जीवन बीमा ०।३० र व्यापार समूह ०।४१ प्रतिशत बढे । विकास बैंक सेक्टर सबैभन्दा धेरै १।७४ प्रतिशत घट्यो । फाइनान्स १।५, होटल तथा पर्यटन १।०४, हाइड्रोपावर ०।१३, उत्पादन ०।०६, माइक्रोफाइनान्स ०।७९ प्रतिशत घटे ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ७।३ प्रतिशत बढ्यो ।
सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ८।९५, एक्सल डेभलपमेन्टको ५।९९ र बोटलर्स नेपाल बालाजुको मूल्य ५।८ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, पिपुल्स हाइड्रोपावर र सीईडीबी होल्डिङ्स क्रमश अगाडि देखिएका छन् ।








प्रतिक्रिया दिनुहोस्