देवदह । देवदह नगरपालिकाले नदीजन्य पदार्थ निकासी तथा व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढाएको छ । आइतबार नगरपालिकामा सरोकारवालाहरुसंग छलफल गर्दै नगरपालिकाले चुरे क्षेत्र बाहेकका खोलाहरुको नदीजन्य पदार्थ व्यवस्थापनको प्रारभ्भिक वातावरण परीक्षण प्रतिवेदनको पुनरावलोकन गरिएको जनाएको छ ।
पहिलो चरणमा देवदहको चुरेभन्दा बाहेकका १९ वटा खण्डबाट नदीजन्य पदार्थ निकासीको लागि कामको सुरुवात गरेको नगरपालिकाका वातावरण तथा विपद् शाखाका रवि पाण्डेले जानकारी दिए । शाखा प्रमुख पाण्डेले प्रारभ्भिक वातावरण परीक्षण प्रतिवेदनको बारेमा जानकारी दिदै तिलोत्तमासंग जोडिएको रोहिणी नदी ड्यामबाट ५८ हजार ५ सय धनफिट नदीजन्य पदार्थ निकासी गर्न सकिने बताए । पाण्डेले ५८ हजार ५ सय धनफिट नदीजन्य पदार्थबाट प्रति ८ रुपैया घनफिटको नगरपालिकालाई एक करोड ६५ लाख २७ हजार २ सय ७९ रुपैया राजश्व संकलन हुने बताए ।
यसैगरी रोहिणी नदी देवदह–३, ११ र १२ बाट ४१ हजार ४ सय ६० घनफिट नदीजन्य पदार्थ निकासी गर्न सकिने बताउदै उनले सो वापत नगरपालिकामा एक करोड १७ लाख १३ हजार २ सय ७९ रुपैया राजश्व संकलन हुने जानकारी दिए । रोहिणी खोलाको राजमार्ग उत्तर तर्फबाट ११ हजार २ सय ६७ घनफिट नदीजन्य पदार्थ निकासी गर्न सकिने र त्यसबाट ६० लाख ६२ हजार ८ सय ७९ रुपैया राजश्व संकलन गर्ने नगरपालिकाले जनाएको छ । घोडाहा खोलाको दक्षिण क्षेत्रबाट ६ हजार ७ सय १० धन फिट नदीजन्य पदार्थ निकाल्न मिल्ने प्रारभ्भिक वातावरण परीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ । जसबाट ३७ लाख २२ हजार २ सय एक रुपैया नगरपालिकामा राजश्व संकलन हुनेछ ।
१९ वटा खण्डबाट जम्मा १ लाख १७ हजार ९ सय ३७ घनफिट नदीजन्य पदार्थ निकासी गर्न र सो वापत ३ करोड ८० लाख २५ हजार रुपैया राजश्व संकलन नगरपालिकाको तयारी छ ।
देवदह नगरपालिकाको आन्तरिक राजश्व संकलनको मुख्य श्रोत नै नदीजन्य पदार्थ रहेको छ । देवदह क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको बताउदै चोरी निकासीलाईै रोक्न नगरपालिकाले धेरै पहल गरेपनि सम्भव नभएको नगर प्रमुख ध्रुवप्रसाद खरेलले जानकारी दिए । नदीजन्य पदार्थ चोरी निकासी रोक्न सवैले भूमिका खेल्नु पर्ने बताउदै उनले त्यसको लागि सामुदायिक वनहरुले प्रमुख भूमिका हुने बताए ।
सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सामुदायिक वनहरुले स्थानीय तहबाट वन पैदावार सम्बन्धि बार्षिक कार्ययोजना स्वीकृत गरेर जान आवश्यक बताए । बैठकमा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–३, का वडाअध्यक्ष यज्ञप्रसाद अर्याल, ११ का वडाअध्यक्ष दुधनाथ यादव, वडा सदस्य अमर लामिछाने, चन्द्रबहादुर रसाईली, अक्वाल खाँ, दुर्गाबहादुर राना, रुका सापकोटा, जीवलाल रेग्मी, हरी केसी लगायतले आ–आफना भनाई राखेका थिए । देवदह नगरपालिका राजश्व शाखा प्रमुख बिष्णु बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








प्रतिक्रिया दिनुहोस्