काठमाडौं ३० माघ । नौ महिनादेखि युक्रेनी सैनिकको हिरासतमा रहेका दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा र तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा यही माघ १८ गते स्वदेश फर्किए। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ ओर्लिएका उनीहरूले नेपालखबरसँग कुरा गर्दै ठूलै युद्ध जितेजस्तो महसुस भएको प्रतिक्रिया दिए।
यसैबीच जर्मनीस्थित नेपाली दूतावासले अझै ७ नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेको जनाएको छ। दूतावासका अनुसार चितवनका सुजन सुवेदी, बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, गोर्खाका ईश्वर लामिछाने र गोर्खाका मदन कुमाल अझै युक्रेनी सेनामा युद्धबन्दीका रूपमा छन्।
रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा होमिँदा उनीहरूलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो। उनीहरूको सकुशल रिहाइका लागि पहल भइरहेको नेपाली दूतावासको भनाइ छ।
युक्रेनले २०२३ मार्चमा आफ्नो नियन्त्रणमा रहेका ५ नेपालीको पहिचान सार्वजनिक गरेको थियो।








प्रतिक्रिया दिनुहोस्