काठमाडौं २३ माघ । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफियाले आज भक्तपुर अस्पतालको अवलोकन गरेकी छन्। उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष ९गाइनो वार्ड० को अवलोकन गरेकी हुन्।
अवलोकनका क्रममा अधिराजकुमारी सोफियाले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिएकी थिइन्। उनले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था, उपचार विधिलगायत विविध पक्षका बारेमा जानकारी लिइन्।
प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उनले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गरिन्। यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उनले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गरेकी थिइन्।
अधिराजकुमारी सोफियाले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याइरहेको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुसी व्यक्त गरिन्।
प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफियाले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गरिन्।
अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताए।
मन्त्रालयका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले भक्तपुर अस्पताल मुलुकको नमूना अस्पताल बनाउन सफल भएको उल्लेख गर्दै प्रदेशका सबै अस्पतालको विकासमा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताइन्।
अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सेवा दिइरहेको बताउँदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस उपकरण सञ्चालनमा ल्याउन सके उपचारमा सहजता हुने बताए।
अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले सोफियालाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिनुभयो। उनले यौन तथा लैङ्गिक हिंसामा परेका महिलाको स्वास्थ्य परीक्षण र उपचार गरी सुरक्षित घर सेभहाउस मा पठाउने, मनोपरामर्श दिने, परिवार र समाजमा पुनःस्थापना गराउनेलगायत कार्य गर्दै आएको बताए।
अधिराजकुमारी सोफीयले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गरिन्। सोफियासँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गर्नुभएको अस्पताल स्रोतले जनाएको छ।
मङ्गलबार नेपाल आउनुभएकी अधिराजकुमारी सोफिय काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०, पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको छ।
‘यता, अधिराजकुमारी डचेस सोफिया आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ गइ अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गरेकी छन्।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले विसं २०७४ देखि सेवा सुरुआत गरेको थियो। अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ।
अधिराजकुमारी सोफिया ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस ९आइएपिबी०’ को ‘ग्लोबल एम्बेस्डर’ ९विश्व सद्भावनादूत० हुन्। विश्वबाट नै उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने अभियानमा सक्रिय उनले आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्वव्यापी रुपमा कार्य गर्दै आएकी छन्। ‘आइएपिबी’ विश्वका आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घरसंस्थाको साझा छाता सङ्गठन हो।
सो अवसरमा अधिराजकुमारी सोफियाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च सराहना गर्दै आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन सुझाव दिएको जनाइएको छ।
नेपाल नेत्रज्योति सङ्घले आफ्ना सञ्जालमार्फत नेपालमा आँखा उपचार सेवा प्रवाह गरिरहेको र वार्षिक सङ्घको सञ्जालमार्फत हजारौँ आँखाका बिरामीले निःशुल्क आँखा उपचार प्राप्त गरिरहेका छन्।
नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको ट्रकोमा रोगलाई निवारण गर्न सफल भएको जानकारीबाट अधिराजकुमारी सोफिया अत्यन्तै प्रभावित समेत हुनुभएको सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जानकारी दिए। अध्यक्ष प्राडापन्तले राजकुमारीको सोफिया नेपाल भ्रमणका क्रमममा कीर्तिपुर आँखा अस्पतालको समेत अवलोकन गरेकोमा धन्यवाद व्यक्त गरे।
सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा डा सविना श्रेष्ठ र मेडिकल निर्देशक डा एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफियालाई जानकारी गराएका थिए।
सङ्घले नेपालका ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ। स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।
हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा रहेका छन्।
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र अधिराजकुमारी डचेस सोफी मंगलबार नेपाल भ्रमणका आएका थिए।








प्रतिक्रिया दिनुहोस्