काठमाडौं ११ पुस । एमाले केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ । बुधबारको बैठकमा ओलीले आफ्नो चीन भ्रमण सफल भएको उल्लेख गर्दै भारत भ्रमणबारे सन्दर्भ उप्काएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग न्युयोर्कको भेटवार्ता भइसकेकाले ‘आवश्यकताअनुसार’ दिल्ली भ्रमण हुने बताएका थिए । मोदीसँग संयुक्त राष्ट्र संघको महासभाको साइडलाइन भेटवार्तामा दुई देशको सम्बन्धबारे कुराकानी भइसकेको उनको भनाइ थियो । ‘भारत भ्रमण अहिले नै किन भएन ? भनेर हल्लाखल्ला गर्नुको अर्थ छैन,’ ओलीको भनाइ थियो ।
सचिवालय बैठकमा नेताहरूले प्रधानमन्त्रीको भारत भ्रमण नभएकै कारण सरकार संकटमा परेको व्याख्या भएको भन्दै यसबारे स्पष्ट हुनुपर्ने बताएका थिए । उनीहरूले भारत भ्रमण नहुँदैमा सरकार संकटमा पर्ने, दुई देशको सम्बन्ध बिग्रिने बुझाइ गलत भएको बताएका थिए ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले नै भारत भ्रमण किन भएन भनेर अरुले नै हल्लाखल्ला गरेको बताए । ‘भारत भ्रमण आवश्यकताले हुनुपर्छ भन्ने पार्टीको निष्कर्ष हो,’ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कान्तिपुरसँगको कुराकानीमा भने, ‘अरु देशको भ्रमण पनि आवश्यकताअनुसार हुन्छन् ।’ उनले न्युयोर्कमा दुई देशका प्रधानमन्त्रीको भ्रमण आदानप्रदान हुने कुरा भइसकेकोले हतार नभएको बताए ।
‘उपयुक्त समयमा दुई पक्षको समय मिलेपछि भ्रमण हुन्छ,’ उनले थपे, ‘दुई देशको सम्बन्ध विस्तारबारे आ(आफ्नो संयन्त्रमार्फत संवाद भइरहेको छ ।’ नेपालको प्रधानमन्त्री भएपछि पहिलो भारत भ्रमण गर्ने परम्परा रहँदै आएको छ । ओली प्रधानमन्त्री भएको पाँच महिना भइसकेपछि भारतको औपचारिक भ्रमण नभएपछि त्यसबारे चर्चा भने कायम छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणमा बेल्ट एन्ड रोड इनिसियटिम बीआरई० फ्रेमवर्कमा सहमति गरेका थिए । नेपाल र चीनका अधिकारीबीच लामो छलफलपछि बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । उनी मंसिर २० मा चीन भ्रमण गरी स्वदेश फर्केका थिए ।








प्रतिक्रिया दिनुहोस्