काठमाडौं ६ साउन । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौं फर्किन थालेका छन् ।
आजमात्रै केही विद्यार्थी काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन् ।
सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ ।
बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने यकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनेको छ ।
सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेश अशान्त छ । देशभर कर्फ्यु आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ ।
आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाई तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्