काठमाडौं ३ साउन । सिमलताल दुर्घटनामा ज्यान गुमाउनुभएका बसका चालक जाहिर महतोका दुई छोराछोरीको पठनपाठनको जिम्मेवारी वीरगञ्ज महानगरपालिकाले लिने भएको छ।
सीमलताल पहिरोमा परेर एन्जल डिलक्स बसका चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी जाहीर महतोका दुई छोरा १० वर्षको जितु, छ वर्षको बिटु र १३ वर्षीया छोरी प्रिती हुनुहुन्छ। उहाँहरुको पठनपाठनको सम्पूर्ण जिम्मेवारी वीरगञ्ज महानगरपालिकाले लिने नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभएको हो। बुधबार मृतकका परिवारलाई सान्त्वना दिँदै नगर प्रमुख सिंहले उक्त कुरा बताउनुभएको हो।
विगत २० वर्षदेखि बस चलाउदै आउनुभएका महतोसँग उहाँको परिवारका पाँच जना सदस्य आश्रित हुनुहुन्थ्यो।
त्यसैगरी सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीन जना र गाउँपालिकामा कार्यरत दुई कर्मचारीलाई जनही एक लाख २५ हजार आर्थिक सहयोग गर्ने जानकारी दिनुभएको छ।
असार २८ गते बिहान चितवनको सिमलतालमा पहिरोमा परी बस बेपत्ता हुँदा बसमा सवार २४ जना बेपत्ता भएका थिए। जसमध्ये १४ जना पर्सा जिल्लाका यात्रु थिए। बेपत्तामध्ये सखुवा प्रसौनी गाउँपालिकाका वडा नम्बर २ जमुनीयाका एकै परिवारका तीन जना हृदय नारायण चौधरी थारु उहाँकी श्रीमती भगवती थरूनी छोरा चन्द्रप्रभासमेत हुनुहुन्छ।
यस्तै सखुवा प्रसौनी गाउँपालिका श्रीपुरमा रहेको अस्पतालमा कार्यरत रेडियोग्राफर कलैया उपमहानगरपालिकाका सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कलैया देवरवानाका रैफुल अन्सारी पनि बेपत्ता हुनुहुन्छ।








प्रतिक्रिया दिनुहोस्