काठमाडौं २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई बनाउने तयारी गरेका छन्।
असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएर पदभार सम्हालेका ओलीका तर्फबाट रिमालले काम थालिसकेका छन्। यद्यपि, उनको औपचारिक नियुक्ति भएको जानकारी सार्वजनिक गरिएको छैन।
प्रमुख सल्लाहकार तथा सल्लाहकारको नियुक्ति मन्त्रिपरिषद्बाट हुन्छ।
‘प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुनेछ,’ ओलीको सचिवालयका एक सदस्यले भने, ‘औपचारिक निर्णय केही समयमा हुन्छ।’
ओलीका विश्वासपात्रमध्ये एक रिमाल इन्जिनियरिङ पृष्ठभूमिका नेता हुन्।
नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमालले यसअघिका तीनवटै कार्यकालमा प्रमुख सल्लाहकार भएर काम गरिसकेका छन्।
पदमा नहुँदा पनि एमाले अध्यक्ष ओलीका हरेक गतिविधिमा रिमालले सहयोग गरिरहेका छन्।
एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०का पूर्वअध्यक्ष रिमालले पार्टी कार्यालयलाई डिजिटाइजेसन गराउन भूमिका खेलेका छन्।
पार्टी कार्यालयमा एक्सन रुम निर्माण, पार्टीको एप निर्माणदेखि हरेक गतिविधि सामाजिक सञ्जालमा पठाउन पनि उखले भूमिका खेलिरहेका छन्।
त्यसो त प्रमुख राजनीतिक सल्लाहकार बनाउन अर्का उपमहासचिव प्रदीप ज्ञवालीका विषयमा पनि पार्टीमा छलफल भएको थियो। ज्ञवाली अहिले सरकारका कामलाई प्रभावकारी बनाउन पार्टीका सबै विभागबाट सुझाव संकलन गरी कार्यक्रमको खाका बनाउन व्यस्त छन्।
प्रधानमन्त्री ओलीले स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त गरिसकेका छन्। उनले नेपाल सरकारको सचिवसरह सेवा सुविधा पाउनेछन्।








प्रतिक्रिया दिनुहोस्