काठमाडौँ, १४ फागुन । टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश पर्शराम भट्टराईको एकल इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो ।
टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै उनको बयान लिनुका साथै दुबै पक्षबाट बहस भएको थियो ।
बहसका क्रममा चौधरीका वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । चौधरीले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेका थिए ।
तर, न्यायाधीश भट्टराईको इजलासले जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने बताएको छ । आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नु पूर्वको फैजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’
चौधरीले अभियोग इन्कार गरेपनि लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका अभियुक्तहरुले अदालतमै रेशम चौधरीको नेतृत्व र योजनामा घटना भएको हो भनेर बयान दिएको भन्दै अदालतले प्रतिवादी कसुरदार छैनन् भन्न नसकिने बताएको छ ।
अदालतको यो आदेशपछि चौधरीले प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिन नपाउने भएका छन्।







प्रतिक्रिया दिनुहोस्