काठमाडौं २१ फागुन । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी अलमलमा परेको हो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ राजनीतिक घटनाक्रमका विषयमा दिउँसो ३ बजे बस्ने सचिवालयको बैठकमा छलफल हुने बताए । यद्यपि, एकीकृत समाजवादी सुरुदेखि नै वाम गठबन्धनको पक्षमा भएको हुँदा नयाँ समीकरणको पनि स्वागत गर्ने बताए ।
‘हामी सुरुदेखि नै वाम गठबन्धन र एकताको पक्षमा थियौं । व्यक्तिगत रूपमा त मैले ‘डे वान’ देखि नै कांग्रेससँगको गठबन्धन ठीक भएन भनिरहेको थिएँ । आज वाम एकता हुने गरी भएको गठबन्धनको निर्णय स्वागतयोग्य छ’, नेता खनालले भने, ‘यो गठबन्धनमा हामी के गर्छौँ भन्ने विषयमा आज ३ बजे बसेको बैठकमा छलफल हुन्छ । अहिले नै यसै के गर्ने भनेर भन्न सकिँदैन ।’
अहिलेसम्म नयाँ गठबन्धनमा माओवादीसँग नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । तर दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा एकीकृत समाजवादी भने बाहिर परेको छ ।
यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने पार्टीको पदाधिकारी बैठकमा बताएका छन् ।
हाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल कृषिमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।
माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्री प्रचण्डले वाम एकतामा जाने गरी एकीकृत समाजवादीलाई समेटेर लैजाने मनस्थितिमा रहेको बैठकमा बताएका थिए ।
‘प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई पनि मिलाएर लैजाने भन्नुभएको छ । तर पहिलो चरणको छलफलमा चारवटा पार्टी मात्रै समेटिएका छौँ । अरू दलसँग छलफल गरेर छिट्टै उहाँहरू पनि गठबन्धनमा आउने वातावरण बन्छ’, पौडेलले भने ।
नयाँ गठबन्धनमा समेट्ने गरी प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका नेताहरूसँग अनौपचारिक छलफल भने गरिरहेका छन् । तर गठबन्धनमा एकीकृत समाजवादीलाई कस्तो भूमिका दिने भन्ने स्पष्ट प्रस्ताव न प्रधानमन्त्रीले दिएका छन्, न एकीकृत समाजवादीले अगाडि सारेको छ ।
एकीकृत समाजवादीका एक नेताका अनुसार ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीका तर्फबाट आएको प्रस्तावबारे छलफल हुने र सोहीअनुसार कसरी अगाडि बढ्ने भन्ने निर्णय लिनेछ ।
‘हामी अहिले यो नै चाहियो भनेर माग गर्ने अवस्थामा छैनौं । तर, केही न्यूनतम आधारहरूमा मात्रै गठबन्धनमा जाने वा नजाने तय हुन्छ’, ती नेताले भने, ‘पहिलो कुरा हामीले यसअघि पाउँदै आएको भागबण्डा के हुन्छ रु दोस्रो, प्रदेशलगायत संरचनामा हामी कहाँ हुन्छौं रु तेस्रो, सबैभन्दा महत्वपूर्ण गठबन्धनले हामीलाई लिन चाहन्छ कि चाहन्न रु चाह्यो भने त्यसको आधार के हुन्छ भन्ने कुराले निर्धारण हुने हो ।’
त्यस्तै एकीकृत समाजवादीले एमालेलाई हेर्ने दृष्टिकोण के हो भन्नेमा पनि छलफल हुनुपर्ने ती नेताको भनाइ छ ।
‘एकीकृत समाजवादीका सम्मानित नेता खनाल भने एमालेलाई वर्ग दुष्मन नै घोषणा नगरेको हुँदा त्यसलाई ठूलो अर्थमा बुझ्न नहुने बताउँछन् । बरु सरकारले गर्ने कामले सँगै रहने वा नरहनेको कुराको अर्थ रहने बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्