काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धि र विकासका लागी सरकारले काम गर्ने बताउनु भएको छ । सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उहाले आर्थिक समृद्धि र विकासका लागी कृषिको आधुनिकरण रोजगारको अवसर निकाल्ने सहितका ५ प्राथमिकता सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान भन्ने नारा दिदै पाँच वटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । तीनै तहका सरकारलाई जनमुखी, सबल र प्रभावकारी बनाउने निर्णय गर्दै २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । ‘ दुई वर्षभित्र गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गरिनेछ, यस्तै, २ वर्षभित्र संघीय संसदको आफ्नै भवन निर्माण पनि गरिनेछ’ ओलीले भने ।
प्रधामन्त्री ओलीले उद्योगहरुको संरक्षण, स्थापना र विकासलाई समावेश गर्दै विकासका पूर्वाधारहरु यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता जनसरोकारका विषय र विकासलाई जनताले प्रत्याभूति गर्नेगरी अघि बढाउने घोषणा समेत गरेका छन् । पर्यटन तथा सेवा क्षेत्रको विकास गर्ने र आन्तरिक तथा बाह्य लगानी बृहत रुपमा वृद्धि गर्ने लक्ष्य नयाँ सरकारले लिएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
उहाले नयाँ सरकारले मुलुकमा देखिएको चरम बेरोजगारी समस्यालाई सम्बोधन गर्ने कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । आम रुपमा रोजगारीका अवसर सिर्जना गरेर मुलुकलाई समृद्धितर्फ अघि बढाउने सरकारको संकल्प छ । भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताउनुभयो । ‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो’ उनले भने ‘भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन सक्दैन, भ्रष्टाचार नियन्त्रण मेरो उद्देश्य हुनेछ ।’
नयाँ सरकारले प्रमुख राष्ट्रिय कार्यसूचीमा उल्लेख्य सफलता प्राप्त गर्न राज्यका सम्पूर्ण स्रोत, साधन, सार्मथ्य र संयन्त्रलाई अभियानको रुपमा परिचालन गर्ने समेत निर्णय गरेको छ । यस्तै, देशका प्रचुर सम्भावनालाई साकार बनाउन नीतिगत ढंगले सम्बोधन गर्ने निर्णय समेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।







प्रतिक्रिया दिनुहोस्