दाङ, ६ माघ । दाङमा रक्सीले मातेका एक व्यक्तिले श्रीमतीको मध्यरातमा रड प्रहार गरेर हत्या गरेका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेका हुन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी पण्डुलेलाई राति नै नियन्त्रणमा लिएको छ । शनिवार राति मदिराले मातेका पेण्डुले घरभित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। पण्डुले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे । तर सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि पण्डुले रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते छिमेकी एक युवा र एक महिला भने उपचारपछि राति नै घर फर्किसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्