काठमाडौं, ११ असोज ।चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान गङ्गा विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका अन्य मन्त्री लगायतका सदस्यहरू पनि छन् ।बुधबार ल्हासामा उनले ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन समेत गरेका थिए । ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन भ्रमण सोचेभन्दा बढी सफल भएको जनाएका थिए ।
बुधबार अपराह्न उनले ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ स्वायत्त क्षेत्रीय समिति (टिबिस) का सचिव वाङ जुछेङसँग भेटवार्ता गरेका थिए ।अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार उतैबाट चीन पुगेका थिए । चीन भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।








प्रतिक्रिया दिनुहोस्