काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्माकै निवास गल्फुटारबाट पक्राउ गरेको पारिवारिक स्रोतले बताएको छ ।
नेपाल प्रहरीले भने यसबारे पुष्टि गरिसकेको छैन । प्रहरी प्रवक्ता डीआइजी कुबेर कडायतले भने आफूले पनि त्यसबारे थप जानकारी लिन खोजिरहेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने सांसद शर्मालाई पक्राउ गरेको पुष्टि गर्दै ‘सरकारले के गर्न खोजेको ?’ भन्दै प्रश्न उठाएका छन् ।
शिवाकोटीले फेसबुकमा लेकेका छन्, ‘केही दिनदेखि सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृति दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ?’
यसअघि सांसद शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
गत साउन १० गते संसद बैठकमै उनले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिएका थिए ।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।







प्रतिक्रिया दिनुहोस्