काठमाडौं २६असार । एकवर्षपछि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकअघि नेपाली कांग्रेस रूपान्तरण अभियानको आफ्नो दस्तावेज पार्टी कार्यालयमा दर्ता गराउने भएको छ। भोलि पार्टीको बैठक सुरु हुनुअघि पत्रकार सम्मेलन गरेर रूपान्तरण अभियानको दस्तावेज दर्ता गर्ने तयारी रहेको नेता गुरुराज घिमिरेले बताए।
उनले भने, ‘हाम्रो तर्फबाट पार्टी रुपान्तरण अभियानको दस्तावेज बनाइसकेको छौँ। भोलि पार्टी कार्यालयमा दर्ता गर्ने त्योभन्दा अगाडि पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। हामीले कांग्रेसको संगठनात्मक वस्तुस्थितिबारे चित्रण गरेका छौँ। मूलत पार्टी कस्तो हुनुपर्ने ? अहिले कस्तो अवस्थामा गुज्रिरहेको छ रु भन्ने विषयलाई उठाएका छौँ।’
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएका थिए । उनले दस्तावेजमा कांग्रेसले विधिको शासनको लागि ठुलो संघर्ष कांग्रेसले गरेको भएपनि विधिविहीनतामा चलेको विषयलाई उल्लेख गरिएको बताए।
घिमिरेले भने, ‘पार्टी महाधिवेशन भएको २० महिना भइसक्यो अहिलेसम्म पार्टीको नीति नै छैन। गठबन्धन गरेर चुनावमा गयौँ। अहिले सरकार पनि गठबन्धनकै छ। तर, कुन नीतिका आधारमा गठबन्धन बनायौँ सरकार बनायौँ भन्ने कुरा हामीसँग जवाफ छैन। पार्टीको आन्तरिक अव्यवस्था ज्यूँका त्यूँ छ। भातृ संस्थाहरूको अवस्था उस्तै छ। विधिपूर्वक गर्नुपर्ने काम हुन सकेको छैन।’
केन्द्रीय कमिटी, कोषाध्यक्ष मनोनयनलगायतको विषयमा पनि पार्टीको ध्यानाकर्षण गराएको बताए।
उनले भने, ‘महाधिवेशन सकिएपछि आधा कार्यकाल हुन लागिसक्यो। १५ औँ महाधिवेशनको तयारी थाल्ने बेलासम्म तीनवटा महासमिति बैठक बस्न सकेको छैन। नीति महाधिवेशनको चर्चा महाधिवेशनदेखि चलेको हो तर, अहिलेसम्म बोलाएको छैन।’
यो अन्योलपूर्ण अवस्थालाई कांग्रेसलाई मुक्त नगरी समय र युग सापेक्ष जनता र कार्यकर्ताको चाहना अनुरूप पार्टीलाई रूपान्तरण गर्न नसके आगामी चुनौती सामना गर्न नसक्ने उल्लेख भएको बताए।
‘पार्टीलाई बलियो बनाएर सबै तहका संरचनाहरूलाई क्रियाशील र गतिशील कसरी बनाउने भन्ने विषयमा हामीले चिन्ता व्यक्त गरेका छौँ। देशभरबाट आएको सुझावलाई अन्तर्क्रियाबाट सूत्रबद्ध गरेर पार्टीलाई बुझाउँदैछौं’ उनले भने ।








प्रतिक्रिया दिनुहोस्