ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटको तयारीमा तनहुँका स्थानीय सरकार


एबीसी न्यूज

काठमाडौं, ८ असार । तनहुँका स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट, नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेका छन् । यही असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधानका कारण जिल्लाका चार नगरपालिका र छ गाउँपालिका अन्तिम तयारीमा छन् ।

जिल्लाको देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केही स्थानीय तह सुझाव सङ्कलनमा व्यस्त छन् । अधिकांश स्थानीय तहले भने इमेलमार्फत नै सुझाव माग गरेका थिए ।

शुक्लागण्डकी नगरपालिकाले बजेट, नीति तथा कार्यक्रमलाई जनमैत्री बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गरेको छ । नगरप्रमुख कृष्णराज पण्डितले बजेट, नीति तथा कार्यक्रममा नगरवासीको अपनत्व वृद्धि गराउन सबै पक्षबाट सुझाव लिइएको बताउनुभयो । प्राप्त सुझावलाई समेटेर आगामी आवको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्ने पण्डितले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय सरकार जनताको नजिकको सरकार हो, स्थानीय सरकारमा नगरवासीले आफ्नो अपनत्व खोज्नु स्वाभाविक हो, हामी त्यसमा सचेत छौँ, नगरवासीको रचनात्मक सुझावलाई समेट्छौँ ।”

नगरपालिकाले नगर सल्लाहकार, राजनीतिक दल, बौद्धिक व्यक्तित्व, नागरिक समाज, नागरिक सरोकार मञ्च, उद्योग वाणिज्य सङ्घ, लियो, जेसिज, युवा क्लब, टोल विकास संस्था, मजदुर, निर्माण व्यवसायी, सहकारी, बैंक तथा वित्तीय संस्था, महिला, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, दलित, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, कृषक लगायतसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव सङ्कलन गरेको छ ।

जिल्लाको पुरानो नगरपालिका व्यास नगरपालिका बजेटको अन्तिम तयारीमा छ । असार १० गते नीति, कार्यक्रम र बजेट एकैसाथ प्रस्तुत गर्ने नगरपालिकाको तयारी छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले भूगोल र जनसङ्ख्यालाई आधार मानी सामाजिक आधारभूत आवश्यकता पूर्ति गर्ने गरी योजना बनाइने बताउनुभयो । उहाँका अनुसार वडाबाट आएका योजना छनोटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, आर्थिक, संस्थागत सुधार लगायतका योजना प्राथमिकतामा परेका छन् ।

यस पटक व्यास नगरपालिकाको बजेटको आकार अङ्क गणितीय हिसाबमा अघिल्लो वर्षको तुलनामा सानो हुने न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सङ्घीय एवं प्रदेश सरकारले दिँदै आएको ससर्त, समानीकरण, समपूरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेटको आकार सानो बनाउन लागिएको हो ।

आव २०८०÷८१ को बजेट तथा कार्यक्रमका लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाको तर्जुमा गरेर विषयगत समितिमार्फत छलफल गरी नगरसभामा पेस गर्ने तयारी गरेको छ । न्यौपानेले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारले दिँदै आएको अनुदानमा धेरै कटौती भएको छ, त्यसको प्रत्यक्ष असर व्यास नगरपालिकामा पनि पर्नेछ ।” उहाँका अनुसार यस पटकको कार्यक्रम तर्जुमा गर्दा चालु खर्चमा कटौती गरी धेरैभन्दा धेरै बजेट पूँजीगत खर्चमा विनियोजन गर्ने तयारी छ ।

बजेट निर्माणका लागि नगरपालिकाले १४ वटै वडामा बजेटको मापदण्ड निर्माण गरी पठाएको थियो । अघिल्लो वर्ष हरेक वडालाई रु एक करोड २५ लाख बजेट तोकिएकामा यस पटक भने रु एक करोडको बजेटमात्र मापदण्ड तय गरिएको छ । वडामा चालु खर्च करिब २० प्रतिशत र पूँजीगत खर्च ८० प्रतिशत हुने गरी मापदण्ड बनाइएको छ । त्यसले गर्दा जनताले प्रत्यक्ष नगरपालिकाको बजेट तथा कार्यक्रमको महसुस गर्ने दाबी गरिएको छ ।

नगरपालिकाले अघिल्लो आवमा रु २२ करोड ६० लाख राजस्व सङ्कलन गरेको थियो भने यस चालु वर्षमा करिब रु १७ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आव २०७९÷८० का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पास गरेको थियो ।

देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने असार १० गते बजेट प्रस्तुत गर्नेछ । गाउँपालिकाले पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने सङ्कल्पअनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माणसहित स्थानीय स्रोतको पहिचान र परिचालन गरिने थापाले बताउनुभयो ।

सो गाउँपालिकालाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने, भूमिहीन अव्यवस्थित बसोबासीको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्दै योजनाबद्ध सहरीकरण तथा बस्ती विकासलाई प्राथमिकतामा राखेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाको चालु आवमा पूर्वाधारतर्फ हालसम्म ६४ किलोमिटर सडक स्तरोन्नति, ११ किलोमिटर नयाँ ट्र्याक निर्माण भएको तथा सबै वडामा सडकको पहुँच पुगेको अध्यक्ष थापाले जानकारी दिनुभयो । साथै प्रदेश सरकारबाट पाँच किलोमिटर सडक कालोपत्र भएको छ ।

गाउँपालिका र सहरी पूर्वाधारबाट गरी तीन सय १० मिटर बाटो ढलान, तीनवटा कल्भर्ट तथा एक हजार तीन सय ५० मिटर पक्की नाला निर्माण भएका छन् । गाउँपालिकामा एक सय २३ आयोजना उपभोक्ता समितिबाट र आठवटा ठेक्काबाट गरी जम्मा एक सय ३१ आयोजना सम्पन्न भएका छन् । स्वास्थ्यतर्फ निःशुल्क आँखा शिविरबाट ६३ र परिवार नियोजन कार्यक्रमबाट तीन सय चार जनाले सेवा पाएका छन् ।

भानु नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाले पनि बजेटको अन्तिम तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com