काठमाडौं, ३१ जेठ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले ९४ भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार ललितपुरमा पहिलो पटक बागमती गाउँपालिकाका उनीहरुहरुलाई निस्सा वितरण गरिएको हो ।
निस्सा वितरण भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ । संयोजक महर्जनले भन्नुभयो, “अहिलेसम्म चारवटा पालिकामा लागत सङ्कलन सम्पन्न भएको छ । हाल तथ्याङ्क प्रविष्टको कार्य जारी छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले भने सम्झौतामा नै आनाकानी गरिरहेका छन् ।
राष्ट्रिय भूमि आयोग ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेले उपलब्ध गराएको तथ्याङ्कअनुसार ललितपुरमा हालसम्म एक सय सात परिवार भूमिहीन दलित, पाँच सय ४७ भूमिहीन सुकुम्बासी र दुई हजार पाँच सय ४७ अव्यवस्थित बसोबासीहरू गरी तीन हजार दुई सय एकजनाका लागत सङ्कलन भएको छ ।
उपलब्ध तथ्याङ्कअनुसार बागमतीमा २० परिवार भूमिहीन दलित, ७४ परिवार भूमिहीन सुकुम्बासी र एक हजार २१ जना अव्यवस्थित बसोबासी गरी एक हजार एक सय १५ जनाको लागत सङ्कलन भएको छ । यीमध्ये ९४ परिवारलाई निस्सा वितरण गरिएको आयोग जिल्ला समितिका विज्ञ सदस्य प्रतीक तामाङले जानकारी दिनुभयो ।
सर्वेक्षक विपना ओलीका अनुसार बागमतीमा यही जेठ १६ गते वडा नं ५ इकुडोलबाट सुरु भएको जेठ ३० गते सम्पन्न भएको हो ।








प्रतिक्रिया दिनुहोस्