ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सुकौरा’ ओझेलमा


एबीसी / संवाददाता

तुलसीपुर, ९ जेठ । तत्कालीन थारू राजा दंगीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ ।

त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन् । बनेका संरचना पनि अलपत्र छन् । त्यहाँ दंगीशरण राजाको सालिक र हरित उद्यान बनेको छ । तर त्यो पनि अलपत्र छ । नाम हरित उद्यान भए पनि त्यही कहीँकतै हरियो देख्न पाइँदैन । निर्माण भएको उद्यानमा गरिएको तारबार पनि फालिएको छ । उद्यानमा कहिलेकाहीँ गाईभैँसी चरनक्षेत्र पनि बन्ने गर्छ । त्यहाँ रोपिएको दुबो मरिसकेको छ । त्यही उद्यानमा दंगीशरण राजाको सालिक राखिएको छ । २५ लाख लगातमा त्यहाँ उद्यान र दंगीशरण राजाको प्रतिमा निर्माण भएको थियो ।

त्यहाँ अहिले पर्यटकको सङ्ख्या पनि शून्य नै छ । ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए । “पहिले–पहिले अलिअलि आउँथे”, उनले भने, “तर अहिले एक जना पनि आउँदैनन् ।”

दंगीशरण गाउँपालिका–३ चखौरमा थारू सङ्ग्रहालयमा निर्माण गरेपछि सुकौरा ओझेलमा परेको हो । चखौरामा थारू समुदायका ऐतिहासिक कुरा राखिएको छ । त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए । त्यो सङ्ग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको उनले बताए ।

सुकौरामा बनाउनुपर्ने सङ्ग्राहलय चखौरा बनाउँदा निकै समस्या परेको उनको ठम्याइँ छ । सबैगरी अहिलेसम्म करिब छ–सात करोड बजेट चखौरामा गएको छ । तर, सुकौरामा एक करोडभन्दा बढी बजेट अहिलेसम्म परेको छैन । अहिले चखौरामा अन्य संरचना निर्माणका काम भइरहेका छन्, तर सुकौरा शून्य छ ।

सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटबाट सिधैँ दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे ।

दंगीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ । दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।

हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो । मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे ।

राजकाज गर्ने क्रममा जनताको पीरमर्का बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए । अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।

पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका १२ जना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाईभैँसी चराउँदै आएका १२ ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । बाह्र ग्वालाले आफूमध्येका एक जनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका–१ मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।

विसं १९४२ मा दंगीशरण–४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठुलो ताल रहेको जनाइएको छ । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन् । तर, प्रहरी प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com