काठमाडौं । प्रहरी हिरासतमा रहेका पूर्व सभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्याइएको छ ।
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा सोमबार आफैँ प्रहरीमा उपस्थित भएका शेर्पा घाइते भएपछि अस्पताल लगिएको प्रहरीले बताएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बिहान ४ बजे अस्पताल लगिएको बताए ।
टाउकोमा चोट लागेकाले उनलाई तत्कालै वीर अस्पताल पुर्याइएको उनले जानकारी दिए। ‘तर उहाँ डिस्चार्ज भइसक्नु भएको छ’, एसपी रिजालले भने । प्रहरीले आङटावा बाथरुममा लडेका कारण घाइते भएको दाबी गरेको छ।
‘बाथरुम जाँदा चिप्लिनु भएछ’, उनले भने।
उनी प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हिरासतमा रहेका बिचौलियालाई बयान फेर्न आङटावाले दबाब दिएको आरोप लागेको थियो। रामेछापका उनी नेपाली कांग्रेसका पूर्व सभासद् हुन्।







प्रतिक्रिया दिनुहोस्