काठमाडौं २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियारको प्रमुख आयुक्त हुने वित्तिकै त्यससँग सम्बन्धित गम्भीर उजुरीहरूमाथि अनुसन्धान गर्नुको साटो त्यस्ता उजुरीलाई आफैंले तामेलीमा पठाइदिएका थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा सरकारी कार्यदलको किर्ते प्रतिवेदन तयार पारिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्रष्टाचार नदेखिएको’ दुई दुई पटक उजुरी तामेलीमा राखेको भेटिएको छ ।
झापा र मोरङमा बाँकी रहेका शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्नेबारे अध्ययन गर्न गृह मन्त्रालयले बनाएको पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची तयार पारेर रकम उठाउने गिरोहले करोडौं रकम असुलेको भन्दै परेको उजुरी आयोगले अनुसन्धान विनै तामेलीमा राखेका थिए ।
अख्तियारमा त्यसबेला उजुरी दिने ‘पीडित’हरूले दिएको जाहेरीका आधारमा प्रहरीले अहिले यही घटनामा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेको छ ।
गिरोहलाई रकम बुझाएका पीडितहरूले आफूहरूको काम नभएको र पैसा पनि फिर्ता नभएको भन्दै अख्तियारमा ३ मंसिर २०७८ मै उजुरी दर्ता गराएका थिए ।
‘उच्चस्तरीय राजनीतिक संलग्नतामा नक्कली भुटानी शरणार्थी बनाई हामीसँग करोडौं रकम असुलियो र काम भएन भनी अख्तियारमा उजुरी परेको रहेछ’ ।भ्रष्टाचार भएको उजुरीमा प्रमाण भेटिएन वा अधिकार क्षेत्रभित्र परेन भने अख्तियारले फाइल तामेलीमा राख्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ (१२) मा ‘अनुसन्धान गर्दै जाँदा सङ्कलित प्रमाणका आधारमा आरोप प्रमाणित हुन नसक्ने भएमा आयोगले उजुरीलाई कारण सहितको पर्चा खडा गरी तामेलीमा राख्न सक्ने’ उल्लेख छ ।
फाइल तामेलीमा राख्नु भनेको अनुसन्धान टुंग्याउनु हो ।








प्रतिक्रिया दिनुहोस्