काठमाडौं । नेकपा एमालेले नेपालीलाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाइने भन्दै भएको ठगीमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीमा उपस्थित हुन निर्देशन दिएको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ पर्ने डरले फरार रायमाझीलाई प्रहरीमा उपस्थित भएर अनुसन्धानमा सघाउनुपर्ने निर्णयसहित एमालेले यस्तो निर्देशन दिएको हो ।
मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रहरी अनुसन्धानलाई सहयोग गर्ने जानकारी गराएर फरार रायमाझीका कारण पार्टीको प्रतिष्ठामा समेत आँच पुगेको निष्कर्षसमेत निकालेको छ ।
अर्घाखाँचीमा छँदा पक्राउ पुर्जी जारी भएपछि काठमाडौंका लागि हिँडेको जानकारी गराएका रायमाझी फरार छन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले सोमबार देशभरका प्रहरी युनिटहरूलाई निर्देशन दिएको थियो । त्यसैअन्तर्गत मंगलबार प्रहरीले ललितपुरस्थित उनको निजी निवासमा खानतलासी गरेको छ ।
‘एमालेविरुद्ध नियोजित रूपमा पनि विभिन्न षड्यन्त्र भइरहेको छ, तर पक्राउ पुर्जी नै जारी भइसकेपछि संविधान, कानुन र विधिको शासन मान्ने पार्टीको नेताले त्यसलाई सम्मान गर्दै निर्दोष भए स्पष्ट पारेर सफाइ पेस गर्नुपर्छ र प्रहरीको अनुसन्धानलाई सहयोग गर्नुपर्छ भन्ने पार्टी अध्यक्षदेखि सबै नेताहरूको साझा निष्कर्ष छ,’ बैठकको निर्णयबारे उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘त्यसैले तत्काल उपस्थित भएर उहाँले अनुसन्धानलाई सहयोग गर्नुपर्छ भन्ने विषयमा बैठकले सर्वसम्मत निर्णय गरेको छ ।’
बैठकमा सचिवालयका सबै नेताले रायमाझी फरार हुँदा पार्टीको प्रतिष्ठामा आँच पुगेको धारणा राख्दै अनुसन्धानमा सहयोग गर्न ढिलाइ गर्न नहुने विचार राखेका थिए ।
एमालेले रायमाझीमाथि प्रमाण नपुर्याई पार्टीमाथि पूर्वाग्रह साँधेर पनि पक्राउ पुर्जी जारी गरिएको हुन सक्ने र वास्तविकता उपस्थित भएर बयान दिएपछि मात्रै थाहा हुने निष्कर्ष पनि निकालेको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेका कारण तत्काल अनुशासनको कारबाही गरिहाल्नुपर्ने अवस्था नरहेको निर्णय पनि एमालेले लिएको छ ।







प्रतिक्रिया दिनुहोस्