ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले आधारभूत मूल्यमान्यतालाई कुल्चदै गोप्य राख्नुपर्ने सूचना चुहाएर नै भगायो टोपबहादुर रायमाझी लाइ


एबीसी न्यूज
बैशाख २३, २०८० शनिबार  १० : ५१ बजे

काठमाडौं, २३ बैशाख ।  फौजदारी कसूरको अनुसन्धानमा प्रहरीले आधारभूत मूल्यमान्यतालाई कुल्चदै गोप्य राख्नुपर्ने सूचना चुहाएर आरोपितहरुलाई भाग्ने मौका दिईरहेको छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने गिरोहमा सामेल भएको आरोपमा उनीहरु विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सूचना संचारमाध्यममा दिएर प्रहरीले अनुसन्धानको मूल्यमान्यतालाई कुल्चिएको छ । जिल्ला अदालत, काठमाडौंले वैशाख २० मा नेकपा (एमाले) का सचिव एवं पटकपटक मन्त्री बनिसकेका टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र प्रतीक थापालाई पक्राउ गर्ने अनुमति दियो। तर छणभरमै यी तीन जना ‘हाईप्रोफाइल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आयो। औपचारिक रुपमा सार्वजनिक नगरे पनि अनुसन्धान नसकिँदै प्रहरीले यो सूचना मिडियामा चुहाएको थियो। कतिसम्म भने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले अझै यो प्रकरणमा १०–११ जना पक्राउ पर्ने सेतापार्टीसँग भिडियो संवादमा भने । यो यस्तो मुद्दा हो, जुन उच्च राजनीतिक र प्रशासनिक व्यक्तिहरुको संलग्नतामा संगठित रुपमा ८७५ जना नेपालीलाई भुटानी शरणार्थीको मान्यता दिलाएर अमेरिका पठाउने योजना थियो। पाँच वर्षदेखि निर्बाध चलिरहेको यो प्रकरणको केन्द्रमा गृह प्रशासनको सिँगो संयन्त्र नै जोडिएको खुलेको छ। तर, संगठित अपराधको कसूरमा अनुसन्धान गरिरहेको त्यही प्रहरीले आरोपित उम्कने गरी अनुसन्धानका सूचना चुहायो।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि केही समय प्रहरीको सम्पर्कमा नै रहेका पूर्वमन्त्री रायमाझी ‘एकाएक गायब’ भए। “यो कुनै आश्चर्यको कुरा होइन,” नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमकुमार कार्की भन्छन्, “तिमीलाई हामीले पक्राउ गर्दै छौं भनेर सार्वजनिक सूचना निकालेपछि अपराधि लुक्छ नै। अनुसन्धान निचोडमा नपुग्दै काम देखाउन वा अरु प्रयोजनका लागि यस्ता सूचना ‘लिक’ गराउनु अपराध अनुसन्धानको आधारभूत सिद्धान्त विपरित हो।”  वैशाख २० मा पक्राउ पुर्जी जारी भएका तीन जनामध्ये एक जनालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वमन्त्री रायमाझीका छोरा सन्दीपलाई प्रहरीले २० गते साँझ लुम्बिनी प्रदेशको बुटवलबाट पक्राउ गरेको थियो। पूर्वमन्त्री रायमाझी र र प्रतीक भने ‘फरार’ छन्। प्रतिक पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा हुन्। पक्राउ पुर्जी जारी भएको दिन एमाले सचिव रायमाझी गृह जिल्ला अर्घाखाँचीस्थित एक कार्यक्रममा सहभागी थिए। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग कार्यक्रममा सँगै रहेका रायमाझी त्यही दिन भैरहवाबाट काठमाडौं उडानमा आउने तय थियो। त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट नियन्त्रणमा लिन प्रहरी तैनाथ रहेकै वेला उनको उडान रद्द भएको सूचना आयो। त्यसपछि रायमाझी ‘गायब’ छन्। “हामी खोजी गरिरहेका छौं,” काठमाडौं प्रहरी परिसरका एसएसपी कार्की भन्छन्। अर्का आरोपित प्रतीकले सामाजिक सञ्जालमार्फत आफूले प्रहरीलाई अनुसन्धानमा सघाउने अभिव्यक्ति दिएका थिए। तर, पक्राउ पुर्जी जारी भएको खबर फैलिएपछि उनी पनि ‘फरार’ हैसियतमा पुगे।पूर्व मन्त्री रायमाझी यो गिरोहको प्रभावशाली खेलाडी रहेको प्रहरीको दाबी छ। आफू उर्जामन्त्री भए पनि गृह मन्त्रालय र बिचौलियाका नाइकेलाई जोडिदिने काम उनैले गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन्।

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र बिचौलिया नाइके केशव दुलालबीच रायमाझीले सम्बन्ध गाँसिदिएको पाइएको छ। रायमाझी, दुलाल र राईबीच वाट्सएप, भाईबरमा भएका संवादले आर्थिक कारोबारको पाटो समेत उघारिदिएको ती प्रहरी अधिकृत बताउँछन्। अझ उनका छोरा सन्दीपको नाममा त गिरोहका सदस्यले डेढ करोड रुपैयाँको चेक काटेको प्रमाण प्रहरीले फेला पारेको छ। कारोबारको अन्य उद्देश्य समेत खुल्न नसकेको एक अनुसन्धान अधिकृतको भनाइ छ। “जब नक्कली भुटानी शरणार्थी बनाएर बाहिर लैजाने धन्दा चल्यो, त्यसपछि मात्रै सन्दीपसँग यो गिरोहको आर्थिक लेनदेन भएको छ,” ती अधिकृत भन्छन्, “उनीहरुबीच व्यापार व्यवसायको लेनदेन पनि देखिँदैन।” यो गिरोहले पूर्वमन्त्री रायमाझीलाई विभिन्न ठाउँमा घुमाउन लगेको तस्वीर पनि प्रहरीसँग छ, जसलाई दसीको रुपमा अदालतमा पेश गर्ने प्रहरीको तयारी छ। यति दरिलो प्रमाण भए पनि अनुसन्धानका गोप्य सूचना चुहाएर प्रहरीले चरम लापारवाही गरेको छ। “देवानी मुद्दामा अदालतको पुर्जी अभियुक्तको घरमा लगेर टाँस्ने, सूचना दिने गरिन्छ,” पूर्व डीआईजी कार्की भन्छन्, “तर, प्रायः फौजदारी  कसुरमा ठीक उल्टो हुन्छ। आरोपितलाई सुइँको दिनुहुँदैन। कसूर स्थापित हुन प्रमाण संकलन महत्त्वपूर्ण हुने भएकाले अनुसन्धानको गोपनीयताको महत्त्व र अर्थ हुन्छ।” उपत्यका अपराध अनुसन्धान कार्यालयले यो प्रकरणको शुरुआति अनुसन्धान गरेको थियो। अभियोजन भने प्रहरी परिसरले सरकारी वकीलको कार्यालयमार्फत अदालतमा पुर्‍याउँछ। त्यो प्रक्रिया पूरा नहुँद प्रहरी अधिकृतहरुले जस लिन खोजेको देखिन्छ। पूर्व डीआईजी हेमन्त मल्ल प्रहरी संगठनभित्र कामको जस लिने अस्वस्थ होड भएका कारण राम्रो नजिता दिने अनुसन्धान पनि अलमलमा पर्ने गरेको बताउँछन्। “कामको जस कसले लिने भन्ने रोग प्रहरीमा पछिल्लो समय नजानिँदो किसिमले बढिरहेको छ,” मल्ल भन्छन्, “त्यसैले मैले काम गरेँ भन्न पनि अनुसन्धानका गोप्य र महत्त्वपूर्ण सूचना छ्यालब्याल बनाइने गरेको छ। यसले संगठन बलियो हुँदैन।” यसअघि क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई समेत प्रहरीले गोप्य राख्नुपर्ने सूचना चुहाएर सजिलो बनाइदिएको थियो। लामिछानेविरुद्ध गत भदौमा नाबालिका बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको थियो। तर, अनुसन्धान नसकिँदै जिल्ला प्रहरी परिसर काठमाडौंले आफ्नो फेसबुक पेजमा लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको भन्दै सूचना निकालेको थियो। गत भदौ २३ गते साँझपख अपडेट गरिएको सूचना राति ९ बजेतिर भने हटाएको थियो। प्रहरी वृत्त बौद्धमा जाहेरी परेको थियो। अनुसन्धान अधिकारीले सूचनामा आपत्ति जनाएपछि परिसरले हटाएको थियो। आठ महीनापछि फेरि अर्को ठूलो घटनामा प्रहरीले उस्तै गल्ती दोहोर्‍याएको छ।

नक्कली भुटानी शरणार्थी यस्तो प्रकरण हो, जसमा मुलुकको पहिलो र दोस्रो ठूलो राजनीतिक दलका पदाधिकारी जोडिएका छन्। दोस्रो ठूलो दलका नेता रायमाझी अनुसन्धानको घेरामा छन् भने पहिलो ठूलो दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाणविरुद्ध पनि पर्याप्त प्रमाण भेटिएको प्रहरी स्रोतले जनाएको छ। गृह सचिव छँदा यो गिरोहसँग काम गरेको आरोपमा नेपाल सरकारका वहालवाला सचिव टेकनारायण पाण्डे प्रहरी हिरासतमा छन्। पाण्डेले पनि खाणको इच्छाअनुसार आफूले काम गरेको प्रहरीसँग बताएका छन्। राजनीतिक र प्रशासनिक उच्च तहका व्यक्तिको संलग्नतामा भएको यो प्रकरणको अनुसन्धान कसूर स्थापित हुने तहमा पुगेमा प्रहरीको मनोबल पनि उकासिने छ। “हाम्रो संगठन सक्षम छ भनेर प्रहरीले जटिल अपराधका सफल अनुसन्धान गरेर बारम्बार पुष्टि गर्दै आएको छ,” पूर्व डीआईजी मल्ल भन्छन्, “प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्छ, नतिजा दिन्छ।” सत्ताधारी कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेका नेता जोडिएको यो मुद्दालाई शुरुमै कमजोर बनाउन खोजिएको देखिन्छ।

प्रहरीले संगठित अपराधको कसूर लगाउन खोजे पनि ठगीमा मात्र अभियोजन लगाउने प्रयास भएको थियो। प्रहरीले आफूमाथि आईपरेको राजनीतिक र प्रशासनिक दबाब चलाखीपूर्वक ‘मिडिया’मार्फत सार्वजनिक गरेपछि बाध्य भएर संगठित अपराधमा अनुसन्धान भएको हो। “अझै पनि यो प्रकरणलाई यतिमै रोक्नुपर्छ भनेर ठूलो दबाब छ,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, “तर, अनुसन्धानको ‘फाउन्डेसन’नै बलियो भएकाले यसमा संलग्न कोही छुट्ने अवस्था छैन।” ८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। त्यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छुट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० लाख देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ। केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। उनीहरु प्रहरी हिरासतमा छन्। तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, गृहसचिव पाण्डेले यो समूहलाई सघाएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि विरोधमा विपक्ष दल, सिंहदरबारमा बैठक बस्दै

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com