काठमाडौं । मादक पदार्थ सेवन गरेको भन्दै एक प्रहरी निरीक्षकले आफू माहतहतका हवल्दारलाई चोडपटक लाग्नेगरी कुटपिट गरेका छन् ।
घटना जिल्ला प्रहरी कार्यालय डोल्पाको हो । सो कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका हुन् ।
शनिवार भएको सो घटनामा ३७ वर्षीय हवल्दारको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ ।
जिल्ला कारागार डोल्पामा कार्यरत हवल्दार आरसीलाई प्रनि चापागाईले प्रहरी कार्यालयमै बोलाएर कुटपिट गरेको पीडित हवल्दारले बताएका छन् ।
हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन् ।
प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगञ्ज जान आग्रह गरेको उनले बताए ।
शनिबार हवल्दार आरसी बिदामा थिए। उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको पनि बताए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।







प्रतिक्रिया दिनुहोस्