काठमाडौं, ११ बैशाख । सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर बालेन्द्र साह(बाले) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।
महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए । मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो । सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौंको मेयर बालेनले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने जनाएपछि फोहोर लैजान थालेको बताए ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा महानगरपालिकाले फोहोर लैजान नदिने भएपछि सिंहदरबार भित्रै फोहोरको व्यवस्थापन समेत सुरु भएको थियो । फोहोर रोकिन थालेपछि कुहिने फोहोर मल र पशुआहार, पुनः प्रयोग गर्नुपर्ने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्दै आएको छ ।सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको छ । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन सिंहदरबारभित्रै भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।
सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन महानगरपालिकालाई आदेश दिएपछि आदेशको पालना गर्ने भन्दै मेयर साहले सर्वोच्चको आदेश अन्य निकायले पनि पालान गर्नुपर्ने बताएका छन् ।‘अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौं महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।उनले सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्