ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतको सम्मान र प्रतिस्पर्धामा विद्यार्थीदेखि वृद्धहरू उत्रिए


एबीसी / संवाददाता

ताप्लेजुङ, २३ चैत । एसइई परीक्षाअन्तर्गत बुधबार भएको अनिवार्य विज्ञान विषयको परीक्षा सकेर फुङलिङ नगरपालिका–९ हाङ्देवाका दीपक लाबुङ डोको बुन्ने प्रतियोगितामा सहभागी हुन हातमा चोया बोकेर हतार–हतार प्रतियोगिता स्थलमा आइपुगे । उमेरले १५ वर्ष पुगेका दीपकसँगै फुङलिङ–७ का ७६ वर्षीय धनबहादुर सुनुवार आमनेसामने बसेर डोको बुनिरहेको देख्दा हेर्ने दर्शकलाई निक्कै रोचक लागिरहेको थियो ।

पछिल्लो समय चोयाबाट डोको, डालो बुन्ने चलन हराउँदै गइरहेकाबेला १५ वर्षीय दीपक र नजिकै बसेर ७६ वर्षीय धनबहादुरले हतार हतार गर्दै चिटिक्क पारेर डोको बुन्दै गरेको देख्दा यताउता उभिएका दर्शकलाई तस्बिर कैद गर्न भ्याइनभ्याइ जस्तै देखिन्थ्यो । दीपकले डोको मात्रै नभई चोयाको डालो, नाङ्लोसमेत बुन्ने गर्छन् । “घरमा बुबाले कहिलेकाहीँ सिकाउनुहुन्छ, चोया आफैँ निकालेर डोको, डालो, नाङ्लो पनि बुन्न सक्छु”, दीपकले भने । सदरमुकामस्थित भानुजन माद्यमिक विद्यालयमा अध्ययनरत दीपकले यो वर्ष एसइई परीक्षा दिइरहेका छन् । उनी गत वर्ष फुङलिङमै आयोजना भएको डोको बुन्ने प्रतियोगितामा पनि सहभागी भएका थिए ।

घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले आयोजना गरेको औद्योगिक कृषि तथा पर्यटन मेलामा आयोजित उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका ३८ जना प्रतियोगी सहभागी थिए । चोया, खुकुरी र कर्द साथमा लिएर दिउँसोको चर्को घाममा हतार हतारमा डोको बुनिरहेको दृश्य साँच्चिकै रोचक थियो । यो वर्ष केही युवाको समेत उत्साहजनक सहभागिता रहेको पाइएको छ ।

परम्परागत सीपलाई पुस्तान्तरण गर्ने साथै आधुनिकताले हराउँदै गएका मौलिक वस्तुको उत्पादन र प्रयोग बढाउँदै लैजाने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक सहभागिताले आयोजक मात्रै नभई विभिन्न क्षेत्रबाट मेला हेर्न आएकाहरू पनि खुसी देखिएका थिए । “हामीले गत वर्ष आयोजित औद्योगिक मेलामा समेत यो प्रतियोगिता राखेका थियौँ, परम्परागत सीप, मौलिक वस्तुको संरक्षणसँगै सर्वसाधारणको आयआर्जन र पर्यटन प्रवर्द्धनमा यसले टेवा पुग्ने देखियो, यो वर्ष थप उत्साहजनक सहभागिता बढेको छ”, घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका सचिव हर्कराज गुरुङले भने ।

यता प्रतियोगितामा सामेल हुनुभएका फुङलिङका कालीबहादुर गुरुङले परम्परागत सीप र उत्पादनलाई प्रतियोगितामा मात्र सीमित नगराई सीप विकास र प्रयोगमा वृद्धि गर्नेतर्फ सरोकारवालाले ध्यान दिन आवश्यक भएको बताए । “मैले करिब डोको बुन्ने पेशा २०४६ सालदेखि सुरु गरेको हो, पहिले पहिले चोयाको डोको, डालो, नाङ्लोलगायतका सामान धेरै प्रयोग हुन्थे, व्यवसायीलाई पनि फाइदा हुन्थ्यो, आजकल बजारमा रबरबाट बनेका सामान आउन थाले, मान्छेले चोयाको डोको, डालो, थुन्से, नाङ्लो बिर्सिए, अब यी पुराना वस्तुको पुनरउत्थान गर्न सरकारले चासो दिनुपर्छ”, गुरुङले भने । स्थानीय कच्चा पदार्थबाट बनेका सामान प्रयोग हुँदा रोजगार सृजना हुने, मुद्रा बाहिर नजाने, कच्चा पदार्थ खेर नजाने जस्ता फाइदाजनक कुरालाई सरोकारवाला निकायले बुझ्न जरुरी भएको गुरुङको भनाइ छ ।

मालिंगो, बाँस वा निगालोबाट बनाइने डोको भारीका बोक्नलाई प्रयोग हुने एक प्रकारको सोली आकारको साधन हो । प्राय ग्रामीण क्षेत्रमा घाँस, दाउरा, पानीको गाग्रीलगायतका सामान बोक्न परम्परादेखि प्रयोग हुँदै आएको डोको आजकल लोप हुँदै गएको पाइन्छ । डोको मात्रै नभई आधुनिकतासँगै चोयाबाट तयार हुने डालो, थुन्से, भकारी, घुमजस्ता वस्तुको प्रयोग गर्ने चलन धेरै न्यून हुँदै गएको छ । बुन्ने र प्रयोग गर्ने चलन हराउँदै गएपछि डोको, डालो, नाम्लो, थुन्से र घुम जस्ता चोयाका सामाग्री सङ्ग्रहालयतिर देख्न थालिएको छ ।

आधुनिक वस्तुको प्रयोगले केही सहजता हुने भए पनि परम्परागत सीप र उत्पादनहरूको पुनरउत्थानले पर्यावरणीय दिगोपन र आयआर्जनका अवसरहरू सिर्जना हुने सरोकारवालाले बताएका छन् । “प्राकृतिक सामग्री र परम्परागत विधि अपनाएर गरिएका उत्पादन दिगो र जीवन उपयोगी हुन्छ, परम्परागत वस्तुको व्यावसायिक उत्पादनले नागरिकको आयआर्जनमा पनि सघाउ पुग्छ, त्यसैले यसतर्फ सबै तहका सरकारले ध्यान दिन आवश्यक छ”, फुङलिङका उद्यमी भीम गुरुङले भने । वातावरणको संरक्षण र आर्थिक अवसर सिर्जना गर्न परम्परागत उत्पादनको पुनरउत्थानले मद्दत पुग्ने उहाँको विश्वास छ ।

युवा पुस्तामा चोयाजन्य डोकोलगायतका सामान तयार गर्ने सीप र क्षमताको विकास हुन सके बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयवासीले बताएकाछन् । उनीहरूलाई आत्मनिर्भर बनाउन परम्परागत वस्तुको उत्पादनले सहयोग पुग्ने र आर्थिक विकासमा समेत टेवा पुग्ने व्यवसायी रमेश गुरुङले बताए । यस्तै, परम्परागत सीप र उत्पादनले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ । आधुनिक युगमा मानिसले परम्परागत उत्पादन र वस्तुको खोजी गर्ने गरे पनि यसको उत्पादन नहुँदा भने आधुनिक वस्तुको प्रयोग बढेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com