ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी खेतीबाट मनग्य आम्दानी


एबीसी न्यूज

काठमाडौं, २१ चैत । शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । दश कठ्ठा बढी जग्गामा उहाँले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

“यस वर्षमात्रै दुई कठ्ठा जग्गामा आलुको उत्पादन १२ क्विन्टल भएको छ, जसबाट रु ४८ हजार आम्दानी भयो”, उहाँले भन्नुभयो, “गोलभेँडा रु ५० हजार बढीको बिक्री भइसकेको छ, बारीमा अझै बिक्री गरेको भन्दा बढी गोलभेँडा बिक्री हुन बाँकी छ, हरियो सागपात, खुर्सानी गरी रु ३० हजार बढीको बिक्री भइसकेको छ ।”

तरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उहाँको भनाइ छ । किसान विष्टले आधुनिक तरिकाले तरकारी खेती गर्ने तालिम भने लिनुभएको छैन । “अन्य किसानले गरेको तरकारी खेती गर्ने तौरतरिका सिकेँ” उहाँले भन्नुभयो, “विशेषगरी भारतीय किसानले गरेको तरकारी खेती नियाल्न थालेँ, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।”

किसान विष्टले पहिला भारतीय बजारबाट तरकारी खरिद गरेर ल्याएर साइकलमा राखेर बेच्ने गर्नुहुन्थ्यो । “साइकलमा तरकारी ल्याएर बेच्न निकै मेहनत पथ्र्यो, सीमा क्षेत्रमा सुरक्षाकर्मीको खप्की खानुपर्ने दैनिकी नै हुन्थ्यो”, उहाँले भन्नुभयो, “तरकारी ल्याएर बेच्नुभन्दा आफैँ उत्पादन गरेर बेच्ने निधो गरेँ, त्यसपछि तरकारी खेती गर्न थालेँ, पहिलो वर्ष सिक्नमै लाग्यो, त्यसपछिका वर्ष उत्पादन बढ्दै गयो, आम्दानी गतिलो हुँदै गयो ।”

परिवारको घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उहाँ बताउनुहुन्छ । उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको उहाँले सुनाउनुभयो ।

“तरकारी खेतीलाई विस्तार गर्न जग्गा भाडामा लिने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “यसका लागि उपयुक्त जग्गाको खोजीमा छु ।” भारतीय तरकारीको निर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने उहाँको सुझाव छ । यसका लागि किसानलाई आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदानको व्यवस्था गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट किसानलाई व्यावसायिक बनाइ रोजगारीका अवसर सिर्जना गर्नका लागि प्रतिवर्ष कृषिमा बजेट वृद्धि गर्दै लैजान थालिएको बताउनुहुन्छ ।

“गत वर्ष कृषिमा रु १० लाख बजेट थियो”, उहाँले भन्नुभयो, “चालु आवमा बढाएर रु ५० लाख पुर्‍याइएको छ, यसले कृषिको उत्पादकत्व बढाउनका लागि सहयोग पुर्‍याउँछ ।” उहाँका अनुसार नगरपालिकाका १२ वटै वडाको कृषि प्रोफाइल तयार गर्ने कार्य अगाडि बढाइएको छ । उहाँका अनुसार घरधुरी सर्वेक्षण कार्यसँगै कृषिसम्बन्धी तथ्याङ्कक सङ्कलन, माटो परीक्षणका लागि आवश्यक जनशक्तिलाई किसानको घरदैलोमा खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । माटो सुहाउँदो बाली लगाउनका लागि अध्ययनको काम भइरहेको उहाँको भनाइ छ ।

नगरप्रमुख रणबहादुर महरा प्रत्येक वडाको कृषिसम्बन्धी सम्भाव्यता अध्ययन गरी ‘प्याकेज’का रूपमा कार्यक्रम सञ्चालन गरिने बताउनुहुन्छ । किसानले उत्पादन गरेको तरकारी भण्डारण गर्न सहजताका लागि शीतभण्डार निर्माण गर्ने कार्य अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com