ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार


एबीसी / संवाददाता

काठमाडौँ, २० फागुन । प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी संकलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म ।

दुई दशक अगाडि ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थालेका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब २० करोड पुर्‍याएका छन् । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ । फार्ममा माछापालनलाई कृत्रिम तथा प्राकृतिक १६ जलाशय र ह्याचरीलाई साना १४ पोखरी छन् । प्रोटिन बढी हुने यस किसिमका माछालाई आवश्यक पर्ने चारा तथा दाना बनाउने व्यवस्था फार्ममा गरिन्छ । माछाका लागि पिना, सिद्रा, भटमासको धुलो, धानको ढुटोलगायत चाहिन्छ ।

देशका विभिन्न स्थानका माछापालक कृषकबाट भुराको माग हुने गरेको छ । माछा हेर्दा साधारणजस्तो देखिए पनि यसले मानव स्वास्थ्यमा बहुआयामिक फाइदा गर्ने नरम र काँडा कम हुने विशेषता भएकाले पनि तुलनात्मकरूपमा अन्य माछाभन्दा केही महँगो पर्छ ।

सेतो मासु भएकाले उच्च रक्तचाप, मधुमेह, मुटुरोगीलगायतका जुनसुकै बिरामीले पनि खान मिल्ने भएकाले पनि यसको माग बढेको छ । माछामा मानिसको दिमागलाई आवश्यक ‘ओमेगा थ्री’ भन्ने तत्व धेरै पाइन्छ । खोटाङका स्थायी बासिन्दा रहेका फार्मका सञ्चालक राई यो व्यवसायमा आउनुभन्दा अगाडि सामान्य ठेक्कापट्टामा आबद्ध थिए । माछापालन क्षेत्रमा कुनै अनुभव थिएन । साथीहरूसँग घुम्दै जाँदा सो ठाउँमा पुग्दा प्राकृतिक सुन्दरताले आकर्षित गरेपछि जग्गा किनेर व्यवसाय थालेको उनको भनाइ छ । “चौबीसै घण्टा बगिरहने सफा पानी र तापक्रम व्यवस्थापनमा धेरै विधि र प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ । धेरै उत्पादन गर्दा मुनाफा राम्रै छ ।”

उपयुक्त तापक्रम तथा गुणस्तरयुक्त दानाको व्यवस्था भएमा ट्राउट माछा उत्पादन गर्न सकिन्छ । माछालाई रोग लाग्नबाट बचाउन पोखरी सधैँ सफा राख्नुपर्दछ, ठीक समय र ठीक मात्रामा दाना दिनुपर्दछ । काठमाडौँबाट साँखु हुँदै जान सकिने उक्त स्थान करिब ३० किलोमिटरको दूरीमा रहेकाले पनि काठमाडौँ उपत्यकाबाट घुम्न आउने, शैक्षिक भ्रमण, सेमिनार, गोष्ठी हुने भएकाले पनि त्यस क्षेत्रमा चाप बढेको छ । कतिपय माछा खान, अवलोकन, सोधपुछ गर्न र व्यवसायीका लागि फार्म राम्रो गन्तव्यस्थल बनेको छ ।

गुणस्तरीय दाना एक किलो खुवाएर एक किलो माछा उत्पादन गर्न सकिन्छ । लामो समयसम्म माछा पाल्दा दानाको खपत बढ्ने र वृद्धिको अनुपात कम हुँदै जाने हुनाले करिब तीन सय ग्रामको तौल भएपछि बिक्री गर्दा नाफा धेरै हुन्छ । खासगरी हिमाली तथा पहाडी भेगमा मूलबाट बहाव हुने चिसो पानी तथा झरनाको स्रोत भएकाले माछाको व्यावसायिक पालन गर्न उपयुक्त मानिन्छ । त्यस क्षेत्रमा खाद्यान्न बाली लगाउन कठिन रहेको अवस्थामा जनताको जीविकोपार्जनका लागि यो क्षेत्र राम्रो आयस्रोतको माध्यम बन्ने सम्भावना देखिएको छ । माछा उत्पादनको लागत धेरै हुँदा स्वभाविकरूपमा लगानी पनि धेरै गर्नुपर्ने भएकाले कृषकलाई आवश्यक लगानी गर्न सरकारी तथा वित्तीय संस्थाबाट विशेष सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुन आवश्यक छ ।

बढी घनत्वमा बगिरहेको पानीमा पालिने मांसाहारी जातको यो माछा अमेरिकाबाट जापानमा आयात गरी पालिएपछि विस्तारै एसियाका अन्य देशमा विस्तार भएको पाइन्छ । स्वच्छ, सफा र स्वादिष्ट हुने माछा सन् १९६८ मा नेपालमा भुराहरू उत्पादन सुरु गरिएको थियो । सन् १९८८ मा सरकार र जाइका नेपालको संयुक्त पहलमा जापानको मियाजाकी प्रान्तबाट ५० हजार भ्रुण फूल आयात गरी गोदावरीमा हुर्काइएको थियो । हयाचरिङलाई गोदावरी र त्रिशूली मत्स्य अनुसन्धान केन्द्रमा गरिएको परीक्षण कार्यक्रमबाट सोही प्रजातिका माछा विकास गरी पालन कार्यक्रमलाई निरन्तरता दिइएको पशु सेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले जानकारी दिए । तत्कालीन समयमा नै माछाको विकासका लागि आवश्यक प्रविधि विकसित गरिएको थियो । यसको व्यावसायिक उत्पादन गर्न सकिने भएकाले सोहीअनुसारका पूर्वाधार आवश्यक हुन्छ । यसको अतिरिक्त शुद्ध नश्लको भुरा र प्राविधिक ज्ञान एवं व्यवस्थापकीय कौशलता भएमा उत्पादनमा सहयोग पुग्दछ ।

ट्राउट माछापालनबाट सफलता पाउनका लागि प्रमुख पूर्वाधार उपयुक्त स्थल छनोट गर्नुपर्ने हुन्छ । स्थल छनोट गर्दा चिसो, सफा र स्वच्छ पानीको स्रोत भएको केही भिरालो जमिन आवश्यक हुन्छ । सडक, विद्युत्, बजार, उत्पादन सामग्रीको उपलब्धता र उत्पादित माछा आवश्यकतानुसार जिउँदै पनि ओसारपसार गर्नुपर्ने भएकाले फार्म रहेको स्थानमा यातायातको पूर्वाधार आवश्यक हुन्छ । माछालाई चाहिने आहारा केही दिनसम्म सुरक्षित राख्न फ्रिज र मिक्सचर प्रयोगका लागि विद्युत्को उपलब्धता अनिवार्य छ । फार्ममा दानाको नियमित आपूर्ति र उत्पादित माछालाई बजारको पहुँच हुनु आवश्यक छ ।

एक मेट्रिक टन माछा उत्पादनका लागि करिब एक सय वर्गमिटर ‘रेसवे’ पोखरीमा न्यूनतम पाँच सय घनमिटर प्रतिदिनका दरले पानीको बहाव निरन्तररूपमा आवश्यक पर्दछ । फार्म निर्माणका लागि छानिएको स्थानमा वर्षैभरि पर्याप्त मात्रामा बगिरहेका पानी हुनु जरुरी रहेको शंकरापुर–२ स्थित हेभन हिल होटल रिसोर्टका सञ्चालक राकेश तिमिल्सिनाले बताए । उपलब्ध पानीको गुणस्तरअनुसार भुरा उत्पादन गर्ने ह्याचरीका लागि संरचना निर्माण तथा खाने माछा मात्र उत्पादनका लागि सुविधा तयार गर्नुपर्छ । ट्राउट माछा बाँच्न, हर्कुन र परिपक्व हुन सफा, चिसो र प्राणवायु (अक्सिजन) पर्याप्त भएको पानी उपयुक्त मानिन्छ । तापक्रम घटबढ भएमा पनि माछा ढिलो बढ्छ र व्यावसायिकरूपमा पालन गर्न फाइदाजनक हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

जेनजी आन्दोलन :बीमा दाबी २३ अर्ब ३९ करोड

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com