काठमाडौँ, ७ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदानस्थल तय गर्ने काम गरिसकेको हो ।
पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदानस्थल निर्धारण गरेको छ । मतदानस्थलमा दुई वटा केन्द्र रहने छन् ।
निर्वाचन तालिकाअनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधबार १० गते मतदान नामावली प्रकाशन हुने छ । सहायक प्रवक्ता भुसालका अनुसार राष्ट्रपति चुनावमा मतदान गर्न योग्य मतदाताको सूची संघीय संसद् र सातवटै प्रदेशको प्रदेशसभा सचिवालयबाट प्राप्त भएको छ ।
राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ । दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुंगो लगाइसकेको छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन् । तर, नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ भने उम्मेदवार टुंग्याएको छैन ।
नेकपा (एमाले)ले पनि गत पुस १० को सहमतिअनुसार राष्ट्रपति सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा एमालेबाट उठाइने उम्मेदवार हुनुपर्ने अडान राखेको छ ।








प्रतिक्रिया दिनुहोस्